हिंसा गरेको आरोपमा पतिविरूद्ध कारवाहीको माग

  ०७५ कात्तिक ९ गते

महदेवा गाउँपालिका–१ की ४५ वर्षीया सुशिलादेवी यादवलाई कुटपिट गरी घाइते बनाउएको आरोपमा ५५ वर्षीय पति महेन्द्रप्रसाद गोइत र सोही ठाउँ बस्ने उनका साथी ५० वर्षीय विश्वनाथ गोइतमाथि प्रहरीले कारवाही नगरेको पीडितकी छोरी सुनीताकुमारी यादवले कात्तिक ९ गते गुनासो गरेकी छिन् ।

घाइते भएकी पीडितको स्याहारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बसेकी छोरी सुनीताले आरोपितहरूलाई प्रहरीले कारवाही गर्नुको साटो मेलमिलापका लागि दबाब दिँदै कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा छलफल गर्न बोलाएको बताइन् ।

सुनीताले भनिन्–‘आमाको १० दिनदेखि अस्पतालमा उपचार भइरहेको छ । आरोपित बुवा हेर्नसमेत आएका छैनन् । उनलाई कारवाही गर्नुको साट्टो प्रहरीले मलाई छलफल गर्न बोलाएको छ ।’

पीडितले असोज ३० गते नै जिल्ला प्रहरी कार्यालयमा आरोपितहरूलाई कारवाही गर्न माग गर्दै उजुरी दिएको बताइन् ।

आरोपितहरूले असोज २९ गते लाठी र मुक्काले कुटपिट गरी पीडितको नाक फुटाएपछि उनको हालसम्म अस्पतालमा उपचार भइरहेको छ ।

पीडितका अनुसार मादक पदार्थ सेवन गरी पतिले दैनिक कुटपिट गर्न थालेपछि एक छोरी र एक छोराका साथ ०७४ चैतदेखि छुट्टै बस्दै आएकी छिन् । छुट्टै बस्दै आएकी पीडितले जिल्ला अदालतमा पतिविरूद्ध अंश मुद्दाको उजुरी समेत दर्ता गरेको बताइन् ।


मनोहरकुमार पोखरेल