हावाहुरी पीडितले एक महिनासम्ममा पनि राहत पाएनन्

  ०७६ असार ३१ गते

१ महिना ८ दिन बित्दा पनि कैलालीका हावाहुरी पीडितहरूले अझै राहत पाएका छैनन् । वैशाख २३ गते आएको विनाशकारी हुरीले २ हजार ५ सय ५० घरमा क्षति गरेको थियो भने दुई जनाको मृत्यु भएको थियो ।

प्रदेश सरकारले पुर्ण क्षति भएका पीडितलाई २० हजार रुपियाँ, आंशिक क्षति भएकोलाई १० हजार रुपियाँ र मृतकका परिवारलाई १ लाख ५० हजार रुपियाँ राहत दिने निर्णय गरेको थियो ।

धनगढी उपमहानगरपालिकाले पुर्ण क्षति भएकोलाई ६ हजार, आंशिक क्षति भएको र पशुपंक्षि तथा व्यवसायिक खेतीमा क्षति भएकोलाई ३-३ हजारका दरले र ९० दिन भित्रको सुत्केरीलाई १ हजार ५ सय रुपियाँ सहयोग स्वरुप राहत दिने निर्णय गरेको थियो ।

एकद्वार प्रणाली हुनाले विभिन्न सङ्घसंस्थाले विपद व्यवस्थापन समीतिका कोषमा रकम जम्मा गरेका छन् । राहत रकम उपलब्ध गराउँदा पनि पीडितको हातमा अझै नपुगेको हावाहुरी पीडितहरूको गुनासो छ ।

हावाहुरी पीडित धनगढी उमनपा-८ का ३६ वर्षीय अमित चौधरीले हुरीले घरको छानो उडाएपनि अहिलेसम्म त्रिपाल समेत नपाएको गुनासो गरेका छन् ।

टोल विकासका प्रतिनिधि र जन प्रतिनिधिहरूले घरघरमा आएर क्षति विवरण सङ्कलन गरेर लगे तर राहत अझै दिएनन् । रेडक्रसले केहीलाई त्रिपाल दियो तर मलाई केही पनि दिएका छैनन् ।

४५ वर्षीया रामदुलारी चौधरीले रेडक्रसले त्रिपालबाहेक अरू केही नपाएको गुनासो गरिन् । 'वडा कार्यालयमा जाँदा पहल मात्र गरेको सुनाउँछन् । महिना दिन बितिसक्दा पनि राहत पाइएन ।'-उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सबै सङ्घसंस्थाले सहयोग गरेको विपद व्यवस्थापन समितिको कोषमा २ करोड ८८ लाख ६५ हजार रुपियाँ राहत रकम जम्मा भएको थियो ।

एकद्वार प्रणालीबाट वितरण गर्ने हुनाले स्थानीय तहलाई जिम्मा गाइसकेको जिल्ला प्रशासन कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्कको आधारमा राहत रकम पठाएको जोशीले बताए ।


मैनामोती चौधरी