हावाहुरीबाट पीडित भएकालाई उचित स्यहारका लागि सरकारसँग मानवअधिकारकर्मीको आग्रह

  ०७५ चैत २० गते

हावाहुरीबाट पीडित भएका सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकालाई उचित स्यहार गर्न सरकारसँग मानव अधिकारकर्मीहरूले चैत १९ गते आग्रह गरेका छन् ।

बारा र पर्सा जिल्लामा २०७५ चैत १७ गते साँझ आएको हावाहुरी घटनाले हुन गएको धनजनको क्षतिले हामी मानव अधिकारकर्मीहरूलाई मर्माहत बनाएको भन्दै प्रेस विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन् ।

प्रदेश २ मा कार्यरत मानव अधिकारकर्मीहरूको संयुक्त टोलीले चैत १८ गते स्थलगत अध्ययन तथा अनुगमन गर्ने क्रममा प्राकृतिक प्रकोपले घरहरू पूर्ण रूपले क्षति पुर्‍याएको, घटना स्थलमा पीडित परिवार न्यून सङ्ख्यामा रहेको, पीडितहरूको बस्ने व्यवस्था नभएका कारण विस्थापित हुनु परेको, बालीनाली पूर्ण रूपमा नष्ट भएको, २९ जनाको ज्यान गएको र ६ सय भन्दा बढी घाइते भएको तथा घाइतेहरूको उपचारमा समस्या रहेको पाइएकोले संवेदनशिल भई प्रभावकारी उपचारको प्रबन्ध मिलाउनु पर्ने जनाएको छ ।

सरकारले पीडितहरूका लागि राहत पठाएको बताए पनि पीडितहरूले राहत नपाएको गुनासो गरिरहेकोले सम्बन्धीत पक्ष संवेदनशील भई तत्तकाल राहत वितरणको यथोचित व्यवस्था मिलाउन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

त्यस्तै घटनामा घाइते भएकाहरूको तथा विस्थापित पीडितहरूलाई यथाशिघ्र पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, ओरेक नेपालकी संयोजक रोजलिन बछार, महिला मानव अधिकारकर्मी शिला झा, नेपाल मानव अधिकार संगठनका सभापति मनोज सिंह दनुवार, मानव अधिकार नेटवर्कका दिपेन्द्र दास, एलाइन्स युथ क्लवका इजाज अन्सारी, उन्नत नेपालका अध्यक्ष नागेन्द्र साह, एमनेष्टी इन्टरनेशलनकी जमुना भुजेल, सेतो गुराशकी सम्झना वर्मा, निल हिरा समाजका प्रदिप यादव र लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समतिका सुभद्रा आले सहित मानव अधिकारकर्मीहरूको संयुक्त हस्ताक्षरले विज्ञप्ति जारी गरिएको छ ।

photo20190403dhanusha


विनोदकुमार रविदास