हावाहुरीका कारण २७ को मृत्यु, ६ सय जनाभन्दा बढी व्यक्ति घाइते

  ०७५ चैत १८ गते

प्रदेश २ का बारा र पर्सा जिल्लामा चैत १७ गते साँझ आएको हावाहुरीका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

६ सय जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु तथा घाइते हुनेमा फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, कलैया उपमहानगरपालिका, सुवर्ण गाउँपालिका, भारत, पर्सा जिल्ला भानीपुर र महागढीमाई नगरपालिका बरियारपुरका रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा फेटा गाउँपालिका–१ बस्ने ६० वर्षीय हरिनारायण दास, सोही ठाउँकी ४५ वर्षीया मनोरमा देवी, सोही ठाउँकी २४ वर्षीया रुनी देवी, सोही ठाउँका ६ वर्षीय बालकनन्द पटेललगायतकाको पोष्टमार्टम नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भएको छ ।

फेटा गाउँपालिका–६ बस्ने मञ्जुर मियाँकी १२ वर्षीया छोरी रुवी खातुनको पोष्टमार्टम नेशनल मेडिकल कलेज वीरगञ्जमा भएको छ ।

फेटा गाउँपालिका–६ पुरैनिया बस्ने २५ वर्षीया विविमा खनुन सोही ठाउँकी ३० वर्षीया मीना खातुन, सोही ठाउँकी १८ वर्षीया सबनम खातुन, सोही ठाउँकी ५० वर्षीया मुस्कीमा खातुन, सोही ठाउँ बस्ने चार वर्षीया आलिसा खातुन सोही ठाउँकी ४० वर्षीया सकिया खातुन, सोही ठाउँकी १० वर्षीया नोक्सार मियाँ, सोही ठाउँकी १३ वर्षीया सम्सिधा खातुनको पोष्टमार्टम नेशनल मेडिकल कलेज भएको स्वास्थ्यकर्मीले बताए ।

प्रसौनी गाउँपालिका–४ बस्ने ५५ वर्षीय अच्क्षेलाल माझीको पोष्टमार्टम नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भएको छ ।

कलैया उपमहानगरपालिका–१८ बस्ने ५० वर्षीया गढीमा देवीको नेशनल मेडिकल कलेज वीरगञ्जमा पोष्टमार्टम भएको छ ।

सुवर्ण गाउँपालिका–८ बस्ने ३० वर्षीया तरीफा खातुनको पोष्टमार्टम कलैया अस्पतालमा भएको छ । सुवर्ण गाउँपालिका–४ चरमोहना गाउँ बस्ने ८० वर्षीय श्रीप्रसाद यादवको पोष्टमार्टम गर्न कलैया अस्पतालमा आउँदै गरेको जनाइएको छ ।

पर्सा जिल्ला भवानपुर गाउँपालिका–१ बस्ने ४५ वर्षीय राम माझी एसीसी इँटा भलुही भर्वलीया गाउँमा कार्यरत रहेका थिए ।

सोही ठाउँका चार वर्षीय बालक सुरज माझी अविभावकसँग इँटाभट्टामा बस्दै आएका थिए । उनीहरूको पोष्टमार्टम जिल्ला अस्पताल कलैयामा भएको छ ।

भारत मोतिहारी–६ कालुपक्कर बस्ने २२ वर्षीय राजेश मुखिया काजल इँटा उद्योग कलैया उपमहानगरपालिका धर्मनगर मतिअर्वामा कार्यरत थिए । भारत सीतामणि बोक्ता–५ बस्ने २३ वर्षीय अवधेश पासवान सोही इँटा उद्योगमा कार्यरत थिए ।

भारत यूपी बलेरी लालगञ्ज खिरी बस्ने ४१ वर्षीय राधेलोढी नविन ईटा भट्टामा मजदुरी गरिरहेका थिए । उनको पोष्टमार्टम जिल्ला अस्पताल कलैयामा भएको छ ।

नेशनल मेडिकल कलेजमा एक जना मृतकको नाम र अन्य मृतकहरूको नाम पनि खुल्न नसकेकाले पोष्टमार्टम गर्न समस्या भएको प्राविधिक टोलीले जनाएको छ ।

जिल्ला अस्पताल कलैयामा दुई जनाको नाम खुल्न नसकेकाले पत्ता लगाउने प्रयास भइरहेको राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख विमल पोखरेलले बताए ।

३ सय ४ जना घाइतेहरूको उपचार नारायण उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

जिल्ला अस्पताल कलैयामा ३ सय जनाको उपचार भइरहेको छ । जिल्लामा रहेका विभिन्न स्वास्थ्य क्लिनिकहरूमा ३८ जनाको उपचार भइरहेको छ ।

कलैया र वीरगञ्जमा उपचार हुन नसकेका ६ जना घाइतेको उपचारका लागि काठमाडौँ पठाइएको अस्पतालले जनाएको छ ।

त्यसैगरी पर्साको वीरगञ्ज उमनपा-१८ का १८ वर्षीय सरोज रामको मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।


भोलानाथ पौडेल