हथौडा प्रहार गरी वृद्धको हत्या

  ०७६ माघ २९ गते

दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको अज्ञात समुहले माघ २७ गते उहाँकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

राति खाना खाएर घरदेखि एक किलोमिटरको दुरीमा रहेको गाईगोठमा सुत्न जानु भएका पण्डित माघ २८ गते बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्यहरुले गोठमा हेर्न जाँदा उहाँको टाउकोमा हथौडा प्रहार गरेर विभत्स हत्या गरिएको अवस्थामा भेटेको पीडित परिवारले जनाएको छ ।

पीडित परिवारले माघ २८ गते हत्या भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा मौखिक उजुरी दिएको बताएको छ ।

घटनाको विषयमा गहन रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर नविन सिंहले बताउनु भएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल गौरमा माघ २८ गते भएको र पोष्टमार्टम रिपोर्ट भने आइ नसकेको रौतहट प्रहरीले जनाएको छ । रौतहट प्रहरीका अनुसार मृतकका छोराले माघ २८ गते शव बुझी लगेको र सोही दिन छोराले हिन्दु परम्परा अनुसार दाह संस्कार गरेको छ ।


कोपिला तिमल्सिना