हत्या स्वीकार्न प्रहरीद्वारा युवालाई हिरासतमा यातना दिएको आरोप

  ०७५ कात्तिक ११ गते

राजविराज नपा–६ का २० वर्षीय विक्की राउतलाई छिमेकी ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोप स्वीकार्न प्रहरीले कात्तिक ९ गते हिरासतभित्र यातना दिएको पीडितले आरोप लगाएका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका राउतले जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई मोति महतोले हत्या आरोप स्वीकार्न भन्दै चरम यातना दिएको आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको घरमा एक्लै बस्दै आएकी देवको कात्तिक २ गते हत्या गरेको अवस्थामा शव फेला परेपछि सप्तरी प्रहरीले अनुसन्धानका लागि १२ जनाभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

सोही क्रममा कात्तिक ८ गते राति नियन्त्रणमा लिइएका राउतको मुख बाँधेर कात्तिक ९ गते बिहान प्रहरीले लाठी, लात, मुक्का र पाइपले छाति, पिठ्यूँ, पैतालालगायतमा कुटपिट गर्दै हत्याको आरोप स्वीकार्न दबाब दिएको पीडितले बताए ।

चरम यातना दिएपनि हत्या आरोप अस्वीकार गरेका राउतलाई प्रहरीले कात्तिक १० गते दिउँसो रिहा गरेको छ । घाइते राउतको राजविराजस्थित अञ्चल अस्पतालमा उपचारपछि कात्तिक ११ गते दिउँसो घर फर्केका छन् । प्रहरीले कुटपिट गरेको पाइपको निलडाम उनको पिठ्यूँमा छ ।

राउत राजविराज नगरपालिका–५ को कार्यालयमा सरसफाईको काम गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले यातना दिएकोबारे आफूलाई जानकारी नभएको र यातना दिनुपर्ने कारण नरहेको बताए । यसैगरी आरोपित असई महतोले आफूले सोधपुछ गरेपनि कुटपिट नगरेको बताएका छन् ।

यसैबिच मणीराज सामुदायिक विकास केन्द्रले अनुसन्धानका नाममा सप्तरी प्रहरीले राजबिराज नपा–६ का बिक्की राउत मेहतरलाई निर्घात कुटपिट गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कात्तिक ११ गते प्रेस विज्ञप्ति जारी गरेको छ ।

केन्द्रका अध्यक्ष शिवचरण चौधरीद्वारा जारी विज्ञप्तिमा गिरफ्तारीमा परेका मेहतरलाई अपराध स्वीकार्न प्रहरीले हात–गोडा बाँधेर फलामले घिसार्दै आँखामा पट्टि बाँधेर पाँच मिनेटसम्म मुख र नाकमा पानी हालेर मरणासन्न हुने गरी कुटपिट गरेको घटना मानव अधिकारको चरम उल्लङ्घन रहेको जनाइएको छ ।

राजबिराज नगरपालिकाको सरसफाई कर्मचारी मेहतरलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान गर्ने क्रममा निर्घात कुटपिट गरी राजविराज नपा–६ की आशादेवी देवको हत्या घटना स्वीकार्न दबाब दिएको क्रियाकलाप अमानवीय तथा बर्बर रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।

अपराध अनुसन्धानको नाममा अमानवीय तरिकाले कुटपिट गर्ने दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग गर्दै विज्ञप्तिमा पीडितलाई तत्काल स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।

यसैगरी नेपाल राउत मेहतर उत्थान समाजले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचाररत बिक्की राउतको उपचार पूरा नहुँदै प्रहरीको दबाबमा राजविराज नगरपालिकाका जनप्रतिनिधिहरूले बलजफ्ती डिस्जार्च गर्न लगाएको आरोप लगाएको छ ।

समाजका अध्यक्ष मनोज मेहतरले कात्तिक ११ गते विज्ञप्ति जारी गर्दै राजविराज नगर प्रमुख शम्भुप्रसाद यादव र उपमेयर साधना झाले अस्पताल गई प्रहरीको दवावमा डिस्जार्च गराएको भन्दै विज्ञप्तिमार्फत भत्र्सना गरेका छन् ।

नगर प्रमुख यादवले आफूले डिस्चार्जका लागि दबाब नदिएको दावी गर्दै नगरपालिकाको कर्मचारी भएको नाताले राउतलाई एक हप्ता घरमै आराम गर्न सुझाव मात्र दिएको बताए ।


मनोहरकुमार पोखरेल