हत्या घटनाका आरोपित पति र नन्द गिरफ्तार

  ०७६ असार २७ गते

धर्मदेवी नगरपालिका–९ की ५० वर्षीया मनमाया जिमीको हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति रूद्रबहादुर जिमी र ४८ वर्षीया नन्द नन्दकुमारी जिमीलाई असार २६ गते गिरफ्तार गरेको छ ।

मनमायाको असार २५ गते जङ्गलमा घाँस काट्न गएको बेला धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । शव फेला परे लगत्तै आरोपित पतिले पत्नीको हत्या भएको भन्दै प्रहरीमा खबर गरेका थिए ।

आरोपितद्वय विरूद्ध मृत्तकका ६१ वर्षीय भाई नीरबहादुर जिमीले असार २६ गते इलाका प्रहरी कार्यालय आँखीभुईमा उजुरी दिएपछि सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो । डिएसपी मल्लले प्रारम्भिक अनुसन्धानका क्रममा घरेलु विवादका कारण हत्या भएको हुन सक्ने देखिएको बताउनुभयो ।

शवको पोष्टमार्टम प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा असार २६ गते गरिएको मेडिकल अधिकृत विनोद बेकोजुले बताउनुभयो ।


भविन कार्की