हत्या गरेको आशङ्कामा दाहसंस्कारका लागि ठिक पारिएको शव बरामद

०७५ माघ २८ गते

महोत्तरीमा एक महिलालाई घरपक्षबाट हत्या गरेको आशङ्कामा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

मनरा सिस्वा नगरपालिका–८ सहसराम निवासी मनोजकुमार महतोकी २० वर्षीया पत्नी धनमतिदेवी महतोको माघ २७ गते मृत्यु भएको र धनमति देवीको दाहसंस्कार गर्ने व्यवस्थापनमा लागिएकोमा माइतीपक्षले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।

प्रहरीले सोधपुछको लागि मृतकका पति र जेठानीलाई नियन्त्रणमा लिएको छ । मृतक महिलाको घाँटीमा चोट र पाखुरामा निलडाम देखिएकोले शङ्का अझै बल्झिएको जनाइएको छ ।

आफन्तले आफैँ मृत्यु भएको प्रहरीलाई जानकारी गराएपनि सोधपुछका क्रममा पासो लगाएर मृत्यु भएको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले समेत मृत्यु शङ्कास्पद देखिएकोले अनुसन्धान थालिएको बताए । उनले माघ २८ गते पोष्टमार्टम समेत हुने बताएका छन् । मृतकको एक महिने छोरासमेत रहेको छ ।


अजयकुमार साह