हत्या गरेको आरोप लागेका व्यक्तिहरूलाई प्रहरीले गोली हानी हत्या: आयोग

  ०७७ असोज ३० गते

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ काँडाघारी बस्ने बालक ११ वर्षीय निशान खड्काको अपहरण पश्चात हत्या गरेको आरोप लागेका व्यक्तिहरूलाई प्रहरीले गोली हानी हत्या गरेको जनाएको छ ।

आयोगले ०७७ असोज ३० गते जारी गरेको प्रेस नोटमा सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई  प्रहरीले ०७५ साउन २१ गते नियन्त्रणमा लिई भक्तपुरको सूर्यविनायक जङ्गलमा लगि गोली हानी हत्या गरेको जनाइएको हो ।

प्रहरीले दोहोरो झडप भएको बताएको भए पनि पीडित पक्षको उजुरीमा आयोगबाट गठित विशेषज्ञहरू सम्मिलित छानबिन समिति समेतले पेश गरेको प्रतिवेदनलाई आधार मानिएको आयोगले उल्लेख गरेको छ । प्रतिवेदन उपर सुनुवाई हुँदा उक्त घटना दोहोरो झडप नभई आरोपित दुवै जनालाई नियन्त्रणमा लिए पश्चात गोली हानी मारिएको आयोगले ठहर गरेको छ ।

उक्त घटनाबाट पीडित बालक निशान खड्काको परिवारलाई ३ लाख रुपियाँ क्षतिपूर्ति, गोपाल र अजय तामाङको परिवारलाई १/१ लाख रुपियाँ क्षतिपूर्ति सिफारिस गरेको आयोगले जनाएको छ ।

सो घटनामा दोषी देखिएका तत्कालीन डिएसपी रुगमबहादुर कुँवर, सईहरू दिपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र प्रहरी सहायक निरीक्षक राजन खड्कालाई कानुन बमोजिम कारबाहीको लागि सिफारिस गरेको आयोगले जनाएको छ ।

त्यस्तै प्रतिबन्धित नेपाल कम्न्युष्टि पार्टीको सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु सम्बन्धमा आयोगबाट २०७६ कार्तिक ४ गेत भएको निर्णयमा पुनरावलोकन गरिपाउँ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतबाट आएको निवेदनमा सुनुवाई हुँदा आयोगको पूर्व निर्णयमा पुनरावलोकन गर्नुपर्ने कुनै तथ्य, आधार, कारण नभएकोले पुनरावलोकन नगर्ने निर्णय भएको आयोगले जनाएको छ ।

त्यसै गरी रुकुम चौरजहारी सोतीमा ०७७ जेठ १० गते ६ जना युवाहरूको मृत्यु भएको घटना सम्बन्धमा आयोगले उक्त घटनालाई जातीय विभेदको जगमा भएको अमानवीय घटना ठहर गरेको छ ।

प्राप्त भएको प्रतिवेदनमा छलफल हुँदा उक्त घटनामा मृत्यु भएका पीडितका परिवारलाई अन्तरिम राहत स्वरुप १/१ लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

जातीय विभेद तथा बालविवाह रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकारलाई स्थानीय तहसम्म प्रवर्धानात्मक कार्यक्रमहरू सञ्चालन गर्ने गरी यस्ता विषयमा शून्य सहनशीलता अपनाउन समेत नेपाल सरकारलाई नीतिगत सिफारिस गर्ने निर्णय भएको छ ।

त्यस्तै रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–७ का नोरितराम डाँगी, विमला केसी र विजय केसी तथा सोही गाउँपालिका–४ का गौरव नेपालीको ०७७ वैशाख १७ गते बेवारिसे बम विष्फोटनमा परी मृत्यु भएको भन्ने घटनाको सम्बन्धमा समेत निर्णय भएको छ ।

घटना बारे प्राप्त भएको प्रतिवेदनमा छलफल हुँदा मृत्यु भएका बालबालिकाका परिवारलाई अन्तरिम राहत स्वरुप जनही १/१ लाख रुपियाँ उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने र घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय गरिएको आयोगका सचिव वेद भट्टराईद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

 

 


दीपकप्रसाद घिमिरे