हत्या गरिएको अवस्थामा महिलाको शव फेला

  ०७६ भदौ २४ गते

हत्या गरिएको अवस्थामा करिब २५ वर्षीया एक महिलाको शव डाकनेश्वरी नपा-८ र राजगढ गाउँपालिका-१ स्थित सीमामा रहेको कजरा खोलामा भदौ २२ गते फेला परेको छ ।

कजरा खोलामाथि लडेको रुखको हाँगामा अड्किएको अवस्थामा छुट्टटिएको शरिरको भाग फेला परेको र शरीर रहेको स्थानभन्दा साढे एक सय मिटर उत्तर पूर्वमा रहेको धान खेतमा टाउकाको कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ २३ गते पोष्टमार्टम गर्न गएका डा. राजेन्द्रप्रसाद दासले शवको पोष्टमार्टम हुन नसकेको बताए ।

डा. दासका अनुसार स्रोत साधन र फरेन्सिक विशेषज्ञको अभावमा कुहिएको र किरा लागेको शवको मृत्युको कारण पत्ता लगाउन सकिएन ।

मृत्यु कसरी केले भएको भन्न नसकिने तथा टाउको र शरीर पनि एउटैको हो भनेर भन्न नसकिने बताउँदै डा. दासले शवको परीक्षण विशेषज्ञ भएको अस्पतालमा पठाउनु पर्ने सुझाव दिए ।

भारतीय सीमाभन्दा ३ सय मिटरको दुरीमा घटनास्थल रहेकाले उतैबाट पनि कसैले हत्या गरी फ्यालेको हुन सक्ने अनुमान गर्दै एसपी प्रसाईले भने-'कुहिएर दुर्गन्ध फैलिएपछि मात्र शवबारे खुलासा भएको हो ।'

शवको प्रकृति हेर्दा एक महिनाअघि नै हत्या गरिएको हुनुपर्छ ।' घटनास्थल आसपासमा रक्सीका बोतलहरू पनि फेला परेका छन् ।

सनाखत हुन नसकेको शवबारे घटनास्थल आसपास र सीमावर्ती क्षेत्रका बासिन्दासँग समेत आवश्यक जानकारी लिने काम सुरू गरी घटनाको थप अनुसन्धान भइरहेको एसपी प्रसाईले जानकारी दिए ।


मनोहरकुमार पोखरेल