हत्या गरिएको अवस्थामा नेकपा कार्यकर्ताको शव फेला

  ०७७ असार ७ गते

रामनगर गाउँपालिका–४ बैरिया टोल निवासी नेकपाका कार्यकर्ता ४० वर्षीय रामजुलुम राय यादवको हत्या गरिएको अवस्थामा असार ७ गते बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी मदन कुँवरले जानकारी दिनु भएको छ । दुवै हात–गोडा बाँधिएको अवस्थामा उहाँको खेतमा शव फेला परेको हो ।

रामनगर गाउँपालिका–४ बैरिया टोलका ३४ वर्षीय नरेश महतोले बुवाको  हत्या गरेको भन्दै मृतकका छोरा २२ वर्षीय छोरा रामसिंह राय यादवले आरोप लगाउनु भएको छ ।

रामसिंह राय यादवले जिल्ला प्रहरी कार्यालयमा दिनु भएको मौखिक उजुरीका आधारमा महतोलाई आसर ७ गते अनुसन्धानका लागि प्रहरीले गिरफ्तार गरेको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले जानकारी दिनु भयो ।

घरेलु हतियार प्रहारबाट रामजुलुमको हत्या भएको प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको हो ? नखुलेको कारण मृतकका छोराले गरेको आशङ्काको आधारमा महतोलाई अनुसन्धानको लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कुँवरले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि आसर ७ गते जिल्ला अस्पताल मलङ्गवामा लगिएको डिएसपी कुँवरले टेलिफोनमार्फत जानकारी दिनु भयो ।


बुधन साह