हत्या गरेको कसुरमा १८ वर्ष ९ महिना कैद फैसला

  ०७६ भदौ २५ गते

कटारी नगरपालिका-४ मरूवाकी २० वर्षीया लक्ष्मी राईको हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेकी ३० वर्षीया सीता राईलाई जिल्ला अदालतले भदौ २४ गते १८ वर्ष ९ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश दीपक खनालको इजलासले हत्या गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । लक्ष्मी र सीता सौतासौता हुन् ।

पतिको घरबाट १ सय मिटर पर बस्दै आएकी सीताले कोही नभएको मौकाछोपी लक्ष्मीलाई आफ्नै घरमा ०७६ असार ८ गते बोलाई तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको इन्स्पेक्टर ललन कुर्मीले बताए ।

आरोपितविरूद्ध पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा किटानी जाहेरी दिएका थिए ।

उजुरी लगत्तै गिरफ्तारीमा परेकी आरोपितलाई अदालतले साउन २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असार ९ गते गरिएको थियो ।


भरत खड्का