हत्याको कसूरमा जन्म कैदको फैसला

  ०७६ पुस २९ गते

आफ्ना दुई छोराहरूलाई विष खुवाई हत्या गरेको कसूरमा महाबु गाउँपालिका–१ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले पुस २८ गते जन्मकैदको फैसला सुनाएकोे छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट सो फैसला भएको दैलेख जिल्ला अदालतका सुचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।
आरोपित नेपालीले ०७५ कात्तिक १० गते दिउँसो खाजामा विष हालेर खुवाएपछि सात वर्षीय जेठो छोरा आयुष नेपालीको उपचार गराउन लैजाने क्रममा बाटोमै र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको कात्तिक १५ गते उपचारको क्रममा मृत्यू भएको थियो ।
घटनाका सम्बन्धमा पीडित पक्षले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित कल्पनालाई कात्तिक २० गते गिरफ्तार गरेको थियो ।
मृतक आयुषको शवको कात्तिक १० गते दैलेख जिल्ला अस्पतालमा र अमितको शवको कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा पोष्टमार्टम भएको थियो ।


अमर सुनार