हतियार सहित दाजुभाइ गिरफ्तार

  ०७४ वैशाख २५ गते

बेसीशहर नगरपालिका-९ भिरकटेरी निवासी २४ वर्षीय मनोज बिक र उनका १९ वर्षीय भाइ प्रदिप बिकलाई प्रहरीले भरूवा बन्दुक सहित सोमबार बिहान गिरफ्तार गरेको छ ।

चुनावको लागि खटिएको प्रहरीको बिशेष गस्ती टोलीले वैशाख २५ गते बिहान एक बजे हतियार बनाउँदै गरेको अवस्थामा आरोपित दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय लमजुङका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए ।

आरोपितहरूले आरनमा बनाउँदै गरेको भरुवा र अर्को सामान्य बन्दुकसमेत घटनास्थलबाट बरामद गरिएको र घटनाको तथ्य पत्ता लगाई कानुनी प्रक्रिया अगाडि बढाउने डिएसपी खरेलले बताए ।

प्रहरीले चुनावी प्रयोजनको लागि हतियार बनाएको आरोपमा बिकद्वयलाई गिरफ्तार गरिएको जनाएको छ । आरोपित मनोज र प्रदिपले भने बाँदर लखेट्ने प्रयोजनको लागि आफूहरूले बन्दुक बनाएको बताएका छन् ।


दलबहादुर मजाकोटी