हतियार प्रहारबाट चार बालबालिकासहित नौ जनाको हत्या

  ०७६ जेठ ७ गते

मिक्लाजुङ गाउँपालिका–३ मा जेठ ६ गते राति नकावधारीले धारिलो हतियार प्रहार गरी चार जना बालबालिकासहित नौ जनाको सामूहिक हत्या भएको छ ।

हत्या गरिएका बालबालिकाहरूमा ६ वर्षीया इक्सा शेर्मा, ८ वर्षीया मुना शेर्मा, १३ वर्षीय योजन शेर्मा र १२ वर्षीया आशिका खजुम रहेका छन् ।

घटनामा ७४ वर्षीय बमबहादुर फियाक र ७३ वर्षीया फूर्सीमाया फियाक पनि मारिएका छन् । यसैगरी, ४१ वर्षीय धनराज शेर्मा र २६ वर्षीय मनकुमारी फियाकको समेत हत्या भएको छ ।

घटनास्थलबाट भाग्न सफल भएकी १२ वर्षीया सीता खजुमको हातमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइरहेकी पीडित बालिकालाई समेत लगेर हत्या प्रयास भएको उनले बताइन् ।

प्रहरी चौकी दशमी र इलाका प्रहरी कार्यालय रविबाट गएको प्रहरी टोली अहिले घटनास्थलमै रहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर तेजबहादुर यादवले बताए ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ अघि बढेको र घटनाको सूचना पाउनसाथ सम्भावित नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारिएको डिएसपी नरेन्द्र कुँवरले बताए ।

सुरक्षा चुनौतीलाई मध्यनजर गरी झापाबाट थप प्रहरी ल्याएर अनुसन्धान थालिने प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए ।

घटनाका पीडितहरू दुई परिवारका हुन् । पीडित बमबहादुर र धनराज शेर्मा नाताले ससुरा ज्वाँई हुन् । धनराजको परिवारमा पाँच जना र बमबहादुरको परिवारमा चार जनाको शव फेला परेको हो ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो आउने वा प्रदेश प्रहरी कार्यालयबाट विशेष टोली खटिने विषयमा आन्तरिक छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शवको पोष्टमार्टम गर्ने विषयमा तत्काल कुनै निर्णय नभएको र हाल घटनास्थलको सुरक्षामा तैनाथी बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर अनिल पौडेलले बताए ।


मङ्गल बेघा