हजुरआमाको हत्या गरेको आरोपमा नाती गिरफ्तार

  ०७७ असार २५ गते

चुरे गाउँपालिका–६ भावरकी ७५ वर्षीया पार्वतीदेवी ऐरलाई असार २३ गते हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय नाती गणेश ऐरलाई असार २४ गते गिरफ्तार गरेको छ ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय, फल्टुडेको हिरासतमा राखिएकोमा असार २४ गते राति नै आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी अनुपमशमशेर जबराले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कबाट बताउनु भयो  ।

चुरे गाउँपालिका–६ का वडा सदस्य रमेश थापाले यसभन्दा अगाडी पनि आरोपित ऐरले हजुरआमासँग झकडा गर्ने, नसालु पदार्थ सेवन गर्नका लागि रकम माग्ने र रकम नदिएको अवस्थामा कुटपिटसमेत गर्ने गरेको र असार २३ गते धारीलो हतियार प्रयोग गरी हजुरआमाको हत्या गरेको इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कबाट बताउनु भयो ।

हजुरआमाको हत्या गरी लासलाई बारीमा लगेर अरहरको झारले छोपेर राखेको अवस्थामा फेलापरेको र घटना भएको राति आफूलाई पनि मार्ने धम्की दिएकोले जिवन रक्षाका लागि पहल गरिदन आरोपित ऐरका बुबा ४८ वार्षीय शेरबहादु ऐरले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कबाट अनुरोध गर्नु भएको छ ।

उहाँले भन्नु भयो– ‘म असार २३ गते बुडर गएको थिए । साँझ घर फर्किदा आमालाई घरमा देखिन । छिमेकीको घरमा हुनु हेला भन्ने लागेको थियो । तर, आमाको हत्या गरेर आएको रहेछ । छोरो आएर मलाई बचाउँछस् की तलाई पनि मारी दिउ भनेर मेरो टाउको,हात र ढाडमा पेचकसले हानेर घाइते बनायो । म पनि राती छिमेकीको घरमा गएर सबै पीडा सुनाए । बिहाना घर आउदा आमाको लास बारीमा भेटाए । मलाई पनि मार्छु भनेको छ ।’

शवको पोष्टमार्टमका लागि असार २४ गते सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी जबराले बताउनु भयो ।


मैनामोती चौधरी