हंसपुर नगरपालिकाका शिक्षकहरू तलब नपाएको भन्दै आन्दोलित

  ०७६ मङ्सिर १६ गते

धनुषा जिल्लाका शिक्षक संस्थाहरूको संयुक्त समितिले शिक्षकहरूको तलब भत्ता उपलब्ध गराउनको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा मङ्सिर ८ गते ज्ञापनपत्र बुझाएको छ ।

धनुषा जिल्लामा आउँदो मङ्सिर १९ गतेदेखि अर्धवार्षिक परीक्षा हुने भएको छ । अर्धवार्षिक परीक्षाको मुखमै शिक्षकहरूले सातदिने अल्टिमेटम् दिँदै तलब, भत्तालगायतको सुविधा उपलब्ध नगराए आन्दोलित हुने चेतावनी ज्ञापनपत्रको माध्यमले दिएका छन् ।

समितिले दसैँ, दीपावलीजस्तो चाडपर्वमा पनि शिक्षकहरूलाई तलब नदिएको भन्दै मङ्सिर ८ गतेदेखि सात दिन भित्र तलब उपलब्ध गराउनुपर्ने माग गर्दै शिक्षक अगुवाहरूले प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई मङ्सिर ८ गते ज्ञापनपत्र बुझाएका हुन् ।

हंसपुर नगरपालिकाको गत आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को छात्रवृत्ति, एसआइपी, दिवा खाजा कार्यक्रमको रकम दिइएको छैन ।

मिथिलाविहारी नपा र सवैला नपामा ०७६ साल साउन देखिको तलव, भत्ता बाँकी रहेको छ । हंसपुर नपामा मेयर र उपमेयरबिच योजना बाँडफाँड र बजेट कार्यान्वयनको क्रममा भएको विवादले गर्दा समस्या भएको छ ।

मिथिलाविहारी नपामा समयमा परिषद गर्न नसकेर बजेट खर्च गर्ने अख्तियारी नआएर समस्या भएको मेयर अनिल यादवले बताउनुभयो ।

हंसपुर नपामा गत आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्मको छात्रवृति, एसआइपी, दिवा खाजा र मिथिलाविहारी नपामा २०७६ साउन देखिको तलव, भत्तादेखि एआइपी रकम, पाठयपुस्तक, छात्रवृत्ति र दिवा खाजाको रकम निकासा भएको छैन ।

शिक्षकको प्रथम त्रैमासिक निकासा अविलम्ब गर्नुपर्ने, शिक्षकहरूको तलब भत्ता उपलब्ध गराउनुपर्ने, हंसपुर नपाको गत आर्थिक वर्षको पाठ्यपुस्तक, छात्रवृत्ति, एसआइपी लगायतको निकासा दिनुपर्ने, दिवा खाजा कार्यक्रमको निकासालगायत ६ बुँदे माग राखेर उहाँहरूले ज्ञापनपत्र बुझाउनु भएको हो ।

ज्ञापनपत्रको बोधार्थ शिक्षा विकास तथा समन्वय एकाई धनुषा, शिक्षा विकास निर्देशनालय प्रदेश २ जनकपुरधाम, मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर जिल्लाको सबै स्थानीय तहमा पठाइएको छ । अहिलेसम्म पत्रको केही पनि प्रतिक्रिया आएको पाइएको छैन ।

हंसपुर नपाका प्रमुख रामज्ञान मण्डलका अनुसार हंसपुर नपामा विगतमा मेयर र उपमेयरबिच भएको विवादको क्रममा कार्यकारी अधिकृत हरिनारायण यादवलाई सम्पूर्ण कार्यभारको जिम्मेवारी दिएको थियो ।

कोष लेखाबाट अहिलेसम्म बजेटको खर्च गर्ने अख्तियारी नपाएकाले बजेट निकासा हुन नसकेको प्रतिक्रिया दिनुभएको छ ।

मिथिला विहारी नपाका मेयर अनिल यादवले अब शिक्षकहरूकोे बाँकी तलब, भत्तालगायतको सम्पूर्ण बाँकी रकम चाँडै निकासा गरिने जानकारी दिनु भएको छ ।

हंसपुर नपामा ३० ओटा विद्यालयमा २ सय २५ जना शिक्षक कार्यरत रहेका छन् । मिथिलाविहारी नपामा १३ ओटा सामुदायिक विद्यालयमा करिव ६० देखि ७० जना शिक्षक रहेको नगरप्रमुख अनिल यादवले जानकारी दिनुभएको छ ।

आन्दोलित एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन धनुषाका अध्यक्ष धर्मेन्द्र यादवका अनुसार चेतावनीको समय समाप्ति पछि हामी सबै सङ्गठनको बैठक बसेर सशक्त आन्दोलन गर्ने निर्णय गर्ने बताउनुभयो ।

नेपाल शिक्षक सङ्घ धनुषाका अध्यक्ष रामसिनेही यादव, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष योगेन्द्र महतो, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन धनुषाका अध्यक्ष धर्मेन्द्र यादव, सङ्घीय समाजवादी शिक्षक फोरम धनुषाका अध्यक्ष नन्दकिशोर तिवारी, नेपाल शिक्षक मञ्चका श्याम साह, नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशनका सुनिल अधिकारी, लोकतान्त्रिक शिक्षक युनियनका उमाकृष्णलाल कर्ण, लोकतान्त्रिक मधेशी शिक्षक फोरमका मोदनारायण राउत र नेपाल शिक्षक सङ्घ धनुषाका सचिव सुरेश यादवद्वारा संयुक्त हस्ताक्षरित ज्ञापनपत्र बुझाइएको हो ।


दिपेन्द्रप्रसाद सिंह