स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो

  ०७३ फागुन १९ गते

राज्यले दिएको सुविधा अनुसारको स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले फागुन १८ गते बिजुवारमा गरेको ज्येष्ठ नागरिकहरूको अधिकार विषयक छलफल कार्याक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् ।

उनीहरूले जिल्ला स्वास्थ्य कार्यालयबाट पाउने सेवासुविधा अनुसारको ज्येष्ठ नागरिक उपचार कक्ष नभएको र अरू नागरिक सरह उपचार गर्न आफूहरू बाध्य भएको र राज्यले दिने भनिएको निःशुल्क औषधि पनि कमै मात्रामा पाउने गरेको ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष गेहराज पण्डितले बताए ।

उनका अनुसार जिल्लामा यातायातमा पनि ज्येष्ठ नागरिकहरूलाई बेवास्ता गर्ने गरिएको छ । अहिलेसम्म यतायात व्यवसायीले जिल्लामा चल्ने यातायातका साधनमा ज्येष्ठ नागरिक सिटको व्यवस्थासमेत नगरेको उनले बताए ।

आफूहरूले जिल्ला प्रशासन कार्यालयमा सो विषयमा बारम्बार कुरा उठाए पनि अझैसम्म लागु नभएको ज्येष्ठ नागरिक विज्ञान कर्माचार्यले बताए । छलफल कार्यक्रममा ज्येष्ठ नागरिकहरूले मानव अधिकार आयोगलाई सो विषयमा जोडदार रूपमा आवाज उठाइदिन आग्रह गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका अधिकृत टङ्क खनाल, द्वारिका अधिकारी, अजित कुमार ठाकुर र इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले जिल्ला स्वास्थ्य कार्यालयमा पुगी जेष्ठ नागरिकको गुनासो र उनीहरूलाई राज्यले दिने भनिएको सेवा सुविधा उपलव्ध गराउन आग्रह गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत सिद्धिमणी सुवेदीले देखिएका समस्या समाधानका लागि थप क्रियाशील भएर लाग्ने प्रतिवद्धता जनाए ।


रविन्द्र पाण्डे