स्वास्थ्य संस्था स्थानीय तहमा समाहित भएपछि औषधिको अभाव

  ०७४ कात्तिक ८ गते

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले औषधि खरिद प्रक्रिया नजान्दा तथा अन्य कामका कारणले ध्यान पुर्‍याउन नसक्दा अहिले जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ ।

सरकारले स्वास्थ्य, शिक्षा, कृषि पशुलगायतका सरकारी कार्यालयको बजेट स्थानीय तहमा पठाएको भए पनि खर्च गर्ने तौरतरिकाको जानकारी नहुँदा समस्या आएको हो ।

वाणगङ्गा नपा-७ कोपहवा, बुद्धभुमि नपा-४ बुड्ढीलगायत कपिलवस्तुका अधिकांश स्वास्थ्य संस्थाहरूमा आइरन चक्की, सिटामोललगायतका निःशुल्क वितरण गर्नुपर्ने औषधिहरूको अभाव देखिएको छ । स्थानीय तहबाट औषधि खरिदका लागी टेण्डर गर्नुपर्ने भएपनि टेण्डर हुन नसक्दा औषधि खरिदमा समस्या आएको जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले बताएका छन् ।

औषधिको अभाव हुन थालेपछि बुद्धभुमि नपाका मेयर केशवकुमार श्रेष्ठले ५ लाख रुपियाँसम्मका औषधि सोझै खरिदका लागि बजेट निकासा गरेको बताए । औषधि अभाव भएपछि अहिले स्थानीय तहहरूले औषधि खरिद प्रक्रिया सुरू भएको बताएका छन् । यद्यपी टेण्डरबाट औषधि खरिद गर्दा समय लाग्ने र सिधै औषधि खरिद गर्दा सेवाग्राहीले औषधिको मुल्य बढी तिर्नुपर्ने हुन्छ ।

स्थानीय तहमा बजेट आएपनि औषधिलगायत अन्य विषयमा जिल्ला स्वास्थ्य कार्यालय पनि मौन रहँदा तथा जनप्रतिनिधिहरूले पनि आफूलाई जानकारी नभएको विषय भन्दै बेवास्ता गर्दा औषधिको अभाव देखिएको स्वास्थ चौकीका कर्मचारी बताउँछन् ।

'जिल्लामा जाँदा औषधि छैन भन्छन् । गाउँपालिका/नगरपालिकामा जाँदा वास्ता गर्दैनन् । हामीले जनतालाई कसरी सेवा सुविधा दिने ?'-वाणगङ्गास्थित स्वास्थ चौकीका अहेब नन्दकिशोर यादवले भने । अहेब यादवका अनुसार अहिले स्वास्थ चौकीमा गर्भवती तथा सुत्केरीलाई प्रदान गर्ने आइरन चक्कीकोसमेत अभाव रहेको छ ।


नन्दराम पौडेल