स्वास्थ्य संस्थामा सिटामोल समेत नपाउँदा बिरामी समस्यामा

  ०७७ कात्तिक ३० गते

गोदाममा जगेडा औषधि थन्किएको छ । थप औषधि किन्न नगरपालिकाको खातामा ३० लाख रुपियाँ पनि छ । तर, दशरथ चन्द नगरपालिकाका १४ ओटा स्वास्थ्य संस्थामा सिटामोल समेत नपाउँदा बिरामीहरू समस्यामा परेका छन् ।

जिल्लाको पुरानो नगरपालिका हो यो । स्वास्थ्य संस्थाहरूमा सिटामोल नहुँदा सर्वसाधारण मात्र होइन, बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी समेत निजी मेडिकल धाउन बाध्य भएका छन् ।

चालु आर्थिक वर्ष ०७७/०७८ को चार महिनासम्म पनि दशरथचन्द नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि पुग्न सकेको छैन ।

सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि बैतडी सदरमुकामकै दशरथचन्द नगरपालिकाका स्वास्थ्य संस्थाको अवस्था त्यस्तो छ ।

लामो समयदेखि स्वास्थ्य चौकीमा सिटामोल नहुँदा स्वास्थ्यकर्मी समेत आजित बनेका छन् । दशरथचन्द नगरपालिका–२ देहिमाण्डौस्थित स्वास्थ्य चौकीका इञ्चार्ज निर्माला पन्तले स्वास्थ्य संस्थामा सिटामोल लगायतका कुनै पनि औषधि नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘नगरपालिकाबाटै औषधि आउँदैन । सामान्य सिटामोल किन्न हामी त निजी मेडिकल जान्छौँ ! सर्वसाधारणलाई कहाँबाट ल्याएर दिनु ?’

स्वास्थ्य संस्थामा औषधि आउन छाडेपछि अचेल स्वास्थ्यकर्मी पनि नियमित स्वास्थ्य संस्थामा नभेटिने गरेको दशरथचन्द नगरपालिका–२ का स्थानीय नरेन्द्र बोहराले बताउनुभयो ।

दशरथचन्द नगरपालिका मातहतका १४ ओटा स्वास्थ्य संस्थामा ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

उपचारका लागि घण्टौँ हिँडेर स्वास्थ्य चौकीमा पुगेका सेवाग्राहीले स्वास्थ्यकर्मी भेट्नै मुस्किल परेको गुनासो गरेका छन् ।

‘उपचार गर्न जाँदा स्वास्थ्यकर्मी नै भेट्न कठिन छ ।’–दशरथ चन्द नगरपालिका–९ का दीपक जोशीले भन्नुभयो–‘बल्लतल्ल स्वास्थ्यकर्मी भेटिए पनि औषधि मिलेन ।’

लुतोको उपचार गर्न स्वास्थ्य चौकी पुग्नु भएका जोशीले औषधि नपाउँदा निराश भएर फर्किएको बताउनु भयो ।

स्वास्थ्य कार्यलयका जनस्वास्थ्य प्रमुख योगेशप्रसाद भट्टले सङ्घीयता भित्रिएपछि औषधि खरिद गर्ने र वितरण गर्ने अधिकार नगरपालिकाको भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयबाट उपलब्ध गराइने औषधि पनि नगरपालिकाको लापरबाहीका कारण गोदाममा थन्किएको भट्टको आरोप छ ।

स्वास्थ्य कार्यलयबाट उपलब्ध गराउनुपर्ने सिटामोल, आइरन चक्की, लुतोका लागि आवश्यक सामान्य औषधि, परिवार नियोजनका सामग्री उपलब्ध गराएको भए पनि नगरपालिकाले लापरबाही गरेको उहाँको आरोप छ ।

‘स्वास्थ्य संस्थामा औषधि नहुँदा समस्या भएको गुनासो हामीलाई पनि आउने गरेको छ । के गर्ने नगरपालिकाले व्यवस्था गर्नुपर्ने हो गरेको छैन ।’–भट्टले भन्नु भयो ।

नगरपालिकाका स्वास्थ्य साखा प्रमुख प्रमानन्द भट्टले छिट्टै यो समस्या समाधान गरिने बताउनुभयो ।


नरी बडु