स्वास्थ्य संस्थामा जीवनजल समेतको अभाव

  ०७६ जेठ २५ गते

कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँ स्थित विराट स्वास्थ्य चौकीमा जीवनजल समेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो ।

स्थानीय विन बुढाका अनुसार अहिले सुख्खा मौसममा झाडापखालाको मौसम छ तर स्वास्थ्य चौकीमा जीवनजल समेत नहुँदा समस्या भएको छ ।

उनले भने–‘स्वास्थ्य चौकीमा बिरामी औषधि लिन आउने गरेपनि नपाउने गरेका छन् । स्वास्थ्य चौकीमा न त औषधि पाइन्छ न त नियमित स्वास्थ्यकर्मी नै आउने गरेका छन् ।’ यसले गर्दा यहाँका स्थानीय प्रभावित हुने गरेको उनले बताए ।

स्वास्थ्य चौकीका अहेव गोविन्द भण्डारीका अनुसार यहाँ पटकपटक औषधि शुन्य मौज्दात रहने गरेको छ । गाउँपालिकाले समयमा औषधि खरिद नगर्दा र समयमा स्वास्थ्य चौकीमा नपठाउँदा जीवनजल समेत अभाव रहेको उनले बताए ।

आइरन चक्की चालु आर्थिक वर्षको जेठ अन्तिम सातासम्म तीन महिना जति शुन्य मौज्दात रहेको थियो । पारासिटामोल चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म २ हजार ५ सय ट्याब्लेट मात्र आएकोले अपुग नै भएको अहेव भण्डारीले बताए ।

परिवार नियोजनका अस्थायी साधन कण्डम, पिल्स र डिपो पनि प्राप्त मात्रमा आउने गरेको छैन । कण्डम चालु आर्थिक बर्षको जेठ तेस्रोसाता सम्म गरी ६ महिना जति शुन्य मौज्दात रहेको छ ।

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष तथा स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष मनविर बुढाका अनुसार अहिले स्थानीय सरकारले प्राप्त मात्र औषधि पुर्‍याउन सकेको छैन ।

उनले भने–‘स्थानीय तहमा कर्मचारी अभाव र समायोजनको प्रभावले गर्दा पनि समयमा औषधि खरिदको काम गर्न सकिएको छैन ।’

आगामी दिनमा औषधि र नियमित स्वास्थ्यकर्मी उपस्थितिको व्यवस्थापन गरिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।


मानदत्त रावल