स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही सेवाबाट वञ्चित

  ०७६ वैशाख २३ गते

सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न सरकारी निकायबाट स्थापना भएका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा स्वास्थ्यचौकीमा सेवा लिन पुगेका सेवाग्राहीहरू स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।

लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गतको स्वास्थ्यचौकी सितापुरमा महिनौँदेखि औषधि अभाव हुँदा सेवा लिन पुगेका सेवाग्राहीहरू सेवा लिनबाट वञ्चित भएका हुन् ।

सरकारले निशुल्क दिँदै आएको ३५ किसिमका औषधिहरू पनि स्वास्थ्यचौकीमा नभएको र चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू पनि समयमा नआउने र समयसम्म पनि नबस्ने सेवाग्राहीको आरोप छ ।

स्वास्थ्य चौकीमा आवश्यक औषधिहरू जीवनजल, आइरन चक्की, डिपो, कटन आदि अभाव भएको विषयमा वडाका जन प्रतिनिधिहरूलाई जानकारी गराई आवश्यक औषधिका लागि पहल गर्न अनुरोध गरे पनि बेवास्ता गरेको सेवाग्राही विनोद पासवानले बताए ।

अहिले स्वास्थ्य चौकीमा सिटामोल समेत न्यून रहेको स्वास्थ्य चौकीले जनाएको छ । एक महिनादेखि एमोक्ससिलिन, बुस्कोपान, एसिलक समेतको औषधि छैन भने आकास्मिक रूपमा आवश्यक पर्ने औषधि समेत अभाव भएको स्वास्थ्य चौकीका अहेव कुलदेव यादवले जानकारी दिए ।

यादवका अनुसार गाउँपालिकाले चौमासिक रूपमा औषधि उपलब्ध गराए पनि पर्याप्त नभएको र अन्य गाउँपालिकाहरूबाट पनि सेवाग्राहीहरू सेवा लिन आउँदा औषधिको खपत बढेको अहेव यादवले बताए ।

लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहका अनुसार स्वास्थ्य संस्थाहरूमा औषधि आपुर्तिका लागि टेण्डर आह्वान गरिसकेकोले केही दिनमा औषधि आपुर्ति हुने बताए ।


दुर्गा परियार