स्वास्थ्य संस्थामा औषधिको अभाव बिरामीले जीवनजलसमेत नपाएको गुनासो

  ०७४ भदौ १७ गते

हिमा गाउँपालिका-६ र ७ महावैपाथरखोलाका झाडापखाला बिरामीले जीवनजलसमेत नपाएको गुनासो गरेका छन् ।

झाडापखालाबाट बिरामी भई स्वस्थ्य चौकीमा जाँदा स्थानीयबासी इमीरा अधिकारीले जीवनजल नपाएको गुनासो गरिन् । स्वास्थ्य चौकीमा बिरामी आउँदा औषधि नपाएर जाने र त्यसको प्रत्यक्ष मार झाडापखलाका बिरामीमा पर्ने गरेको अधिकारीले गुनासो गरिन् ।

अहिले स्वास्थ्य चौकीमा दैनिक १०/१२ जना झाडापखालाका बिरामी जाने गरेपनि औषधि नपाएको उनको गुनासो छ ।

महावैपाथरखोला स्वास्थ्य चौकीका इञ्चार्ज भुवन कठायतले स्वास्थ्य चौकीमा औषधिको अभाव रहेको बताए । तर, सबै औषधि नसकिएकाले बिरामीलाई स्वास्थ्य चौकीमा आउन आग्रह गरेका छन् ।

हिमा गाउँपालिकाका स्वास्थ्य संयोजक क्षेत्रबहादुर महतले जिल्ला स्वास्थ्य कार्यालयले तीन महिनासम्म पुग्ने औषधि लैजान भन्दा पनि स्वास्थ्य चौकी सक्रिय नदेखिएकाले औषधिको अभाव देखिएको बताए । संयोजक महतका अनुसार अबका दिनमा स्वास्थ्य चौकीमा औषधि छ/छैन भनेर सम्बन्धित गाउँपालिकाले बुझ्नु पर्दछ ।


मानदत्त रावल