स्वास्थ्य र सामाजिक सुरक्षाबाट बञ्चित बेवारिस महिलाको उपचार सुरु

  ०७५ चैत २३ गते

हात्तीको आक्रमणमा परेर घाइते बनेकी नाम, ठेगाना, उमेर नखुलेकी बेवारिस एक महिलाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार र स्याहार सुरु भएको छ ।

Photo20190406Saptari (1)

'बेवारिसे अवस्थामा फेला परेकी महिला स्वास्थ्य र सामाजिक सुरक्षाबाट वञ्चित' शिर्षकको समाचार चैत २० गते इन्सेक अनलाइनलगायत केही सञ्चार माध्यममा प्रकाशन भएपछि उनको उपचार र स्याहार सुरु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका आकस्मिक विभागका इन्चार्ज अहेव धनेश्वर साहले समाचार प्रकाशन भएपछि वन कार्यालय, स्थानीय प्रहरी, प्रशासनका साथै अस्पतालले समेत चासो लिएको बताए ।

Photo20190406Saptari (2)

घरपरिवारका सदस्य कोही फेला नपर्दा आर्थिक अभावमा उपचार नपाएर वेवारिस बनेकी महिलाको हातमा स्टिल लगाइएको अस्पतालले जानकारी दिएको छ । अर्थोपेडिक डा. ज्ञानेन्द्रकुमार झाको टोलीले उनको दाहिने हातको सफल शल्यक्रिया गरी स्टिल लगाएको छ । शल्यक्रिया र स्टिल जडानका लागि डिभिजन वन कार्यालय, सप्तरीले १० हजार नगद उपलब्ध गराएपछि उपचार सम्भव भएको डा. झाले बताए । डा. झाले भाँचिएको हातमा स्टिल लागेको र भाँचिएको 'पेल्भिक' को हड्डी समेत विस्तारै ठिक हुने बताए ।

'वन ऐन तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९' अनुसार वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षति बापत तोकिए बमोजिम राहत दिनुपर्ने र उपचार गर्नुपर्नेमा वन कार्यालय, आरक्ष र जिल्ला प्रशासन कार्यालय बेखबर रहेको समाचार प्रकाशन भएलगत्तै डिभिजन वन कार्यालयका प्रमुख धिरेन्द्रप्रसाद सिंहले नगद १० हजार रुपियाँ उपलब्ध गराए । इन्सेक सप्तरी प्रतिनिधीकै रोहवरमा उक्त रकम रेञ्जर लक्ष्मण साफीले अस्पताललाई हस्तान्तरण गरेका थिए ।

Photo20190406Saptari (3)

अस्पतालले महिलाको मेरुदण्ड र कम्मरलगायतको एक्सरे निशुल्क गर्नुका साथै उनको सरसफाईमा समेत ध्यान दिएको छ । सरसफाई र उचित स्याहारका लागि सर्जिकल वार्डमा सारिएकी महिलालाई नर्सहरू र कर्मचारीहरूले लट्टा परेको कपाल छोट्याई दिनुका साथै कपाल कोर्ने, नुहाउने, सफा लुगा फेर्ने, नङ्गहरू काटि दिएर सफा सुग्घर राख्न थालेका छन् ।

छेउका अन्य बिरामीका कुरुवाहरूले दया गरी खान दिए खाने नभए भोकै, प्यासै सुत्ने गरेकी महिलालाई अस्पतालले पोषणयुक्त खाना समेत उपलब्ध गराउन थालेको छ ।

Photo20190406Saptari (4)

नाम, ठेगाना नखुलेकी मानसिक सन्तुलन सामान्य नरहेकी महिला पूर्ण रुपमा ठिक नभएसम्म उपचारसँगै मनोपरामर्श र पुर्नस्थापनाको आवश्यक्ता रहेको अस्पतालका चिकित्सकहरूले बताएका छन् ।

हात्तीको आक्रमणमा परी घाइते महिलालाई अग्नीसाइर कृष्णसवरन गापा-१ बाट बेवारिसे अवस्थामा फेला पारी प्रहरीले फागुन ९ गते अस्पताल भर्ना गराए पनि उनका परिवार कोही सम्पर्कमा नआए पछि उनको उपचार र स्याहार हुन नसकदा जीवनमरणको संघर्षमा तडपिएकी थिइन् ।


मनोहरकुमार पोखरेल