स्वास्थ्य बिमा गरेपनि गुणस्तरीय उपचार नपाएको गुनासो

  ०७६ असार २८ गते

सरकारले नागरिकलाई सहज र गुणस्तर उपचारको परिकल्पना गरी कपिलवस्तुलगायत देशका ३६ जिल्लामा बिमा कार्यक्रम लागु गरेपनि नागरिकले सहज र गुणस्तर उपचार पाउन नसकेका गुनासो गरेका छन् ।

जिल्लामा राम्रो अस्पताल नहुँदा अधिकांश बिमा गरेका व्यक्ति जिल्लाका अस्पतालमा रिफर गराउन मात्र जाने गरेको पाइएको छ ।

जिल्लामा गुणस्तरीय सेवा नहुनुको साथै निशुल्क पाइने भनेका औषधि समेत नपाइने भएपछि जिल्ला बाहिर बुटवल भैरहवा लगाएतका मेडिकल कलेजहरमा जानुपर्ने बाध्यता रहेको बिमाकर्ता हिरामणी पौडेलको भनाई छ ।

कपिलवस्तुमा जिल्ला अस्पताल तौलिहवा, शिवराज अस्पताल बहादुरगन्ज र पिपरा अस्ताल बाणगङ्गामा गरि तीन ओटा १५ शैयाका अस्पताल रहेका छन् भने दुई ओटा प्राथमिक उपचार केन्द्र छन् ।

उक्त अस्पतालमा डाक्टरको दरबन्दी रहेपनि गुणस्तर सेवाको अभाव र नागरिकमा विश्वासको कमी भएकाले उपचार गर्न आउनेमध्ये करिब ८० प्रतिशत बिरामी भैरहवा मेडिकल कलेज रुपन्देही, देवदह मेडिकल कलेज देवदह रुपन्देही र प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिने गरेको पिपरा अस्पालका एक कर्मचारीले बताए ।

उपचारका लागि आउने अधिकांश बिरामीले रिफर माग्ने गरेपछि जिल्ल्का अस्पतालहरू रिफर सेन्टरको रूपमा परिणत हुन लागेको पिपरा अस्पतालका डाक्टर विपिन जैसलाल बताउँछन ।

उपचारका लागि आउने अधिकांश बिरामीहरूले यही अस्पतालमा हुने उपचार पनि रिफर गरी अन्य अस्पतालमा जाने गरेको बताएका छन् ।

रिफर गर्नु पर्ने प्रावधान झञ्झटिलो

सरकारले जिल्लाका अस्पतालवाट रिफर गराउनु पर्ने बाध्यता बनाउदा बिरामीहरूलाई धेरै समय लाग्ने झञ्झटिलो र अझ खर्चिलो भएको छ ।

रिफर गर्ने अस्पतालमा दिनभर लाइन लागेर सिफारिसका लागि कागज तयार गर्नु पर्छ । फेरि उपचारका लागि अर्को अस्पतालमा लाइनमा बस्नु पर्ने बाध्यताले समयमा उपचार नपाउने समस्या भएको छ ।

नागरिकले इच्छा लागेको अस्पतालमा उपचार पाउनु पर्ने बिमा गरेका बुद्धभुमि नपा–४ का जगुलाल पोखरेलको भनाई छ ।

कपिलवस्तुमा ३६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध  

कपिलवस्तुका ६ नगरपालिका र चार गाउँपालिकामा ३६ हजार ५ सय १३ जनाले स्वास्थ्य बिमा गरेका छन् । तर, उपचार गुणस्तर र विश्वासिलो नभएपछि अधिकांश बिरामीहरू बाहिरी जिल्ला जान बाध्य छन् ।

कपिलवस्तु जिल्लामा ३ हजार ४ सय ९६ घरपरिवारका ३६ हजार ५ सय १३ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।

जसमा महिला १८ हजार ५९ र पुरुष १८ हजार ४ सय ५१ जना रहेका छन् । ०७४ चैतदेखि ०७६ जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा जिल्लामा रहेका १० स्थानीय तहमध्ये वाणगङ्गा नगरपालिकामा ९ हजार १ सय ८३, बुद्धभूमि नगरपालिकामा ५ हजार ८ सय ९४, कपिलवस्तु नगरपालिकामा ३ हजार ९ सय १६, कृष्णनगर नगरपालिकामा ४ हजार ४ सय ५४ स्वास्थ्य बिमामा आबद्ध रहेका छन् ।

त्यस्तै महाराजगञ्ज नगरपालिकामा ४ हजार ४ सय ६६ जना र शिवराज नगरपालिकामा २ हजार ८ सय ४६ जनाले स्वास्थ्य बिमा गराएका छन ।

गाउँपालिकातर्फ विजयनगर गाउँपालिकामा २ हजार ७ सय १६, मायादेवी गाउँपालिकामा ७ सय २४, शुद्धोधन गाउँपालिकामा १ हजार ५ सय ९६ र यशोधरा गाउँपालिकामा ७ सय १८ जनाले बिमा गराएका छन् ।

बिमामा आबद्ध भएका मध्येहरूबाट ९४ लाख ७६ हजार ७० रकम सङ्कलन भएको स्वास्थ्य बिमा वोर्ड कपिलवस्तुका दर्ता अधिकारी सुदिप पौडेलले बताए ।

स्वास्थ्य बिमाको प्रावधान अन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार ३ हजार ५ सय, र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रति सदस्य ७ सय रुपियाँका दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आबद्ध हुन सक्ने व्यवस्था छ ।

पाँच जनाको परिवारका लागि प्रति परिवार वार्षिक १ लाख रुपियाँसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी भएमा दुई लाख रुपियाँसम्मको सेवा पाइने प्रावधान छ ।

तपाईँको स्वास्थ्य, हाम्रो अठोट भन्ने मूल उद्देश्यका साथ गरीबीको रेखामुनि रहेका अति विपन्न परिवारका व्यक्तिलाई समेत स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने कार्यक्रमको लक्ष्य छ ।

बिमा रकम तिर्न नसक्ने विपन्न वर्गका हकमा भने सरकारले नै बिमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।


नन्दराम पौडेल