स्वास्थ्य चौकी भवन समुदायलाई हस्तान्तरण, स्थानीयमा खुशी

  ०७४ मङ्सिर ७ गते

पटेर्वा सुगौली गाउँपालिका-२ मा रहेको स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार निगरानी समूह र वडा कार्यालयको संयुक्त आयोजनमा मङ्सिर ६ गते आयोजित एक समारोहकाबिच भवन हस्तान्तरण गरिएको हो ।

०७६/०६८ मा ९० लाख रुपियाँको लागतमा निर्माण सुरू भएको भवन समुदायलाई हस्तान्तरण गरिएको छ । लोकप्रिय, मोना र अकेला निर्माण कम्पनीको जोइन्ट भेन्चरमा निर्माण सुरू भएको भवन २०७० सालमा निर्माण सम्पन्न भइसक्नु पर्ने थियो । तर, निर्माण पक्षको लापरबाहीका कारण निर्माण ढिलो भएको थियो ।

गत वर्षसोही वडामा इन्सेकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा काम गर्ने भन्दै मानव अधिकार निगरानी समूह बनाएको थियो । समूहले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य चौकीको निर्माण र हस्तान्तरणलाई तोकेको समूहका अध्यक्ष एवम् सोही वडाका नवनिर्वाचित अध्यक्ष विजय गैरेले बताए ।

भवन हस्तान्तरणको लागि शहरी डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र निर्माण पक्षसँग पटकपटक सम्वाद र पैरवी गर्नु परेको उनले सुनाए ।

'प्रमुख जिल्ला अधिकारीलाई भवन हस्तान्तरणको माग गर्दै जिल्ला मानव अधिकार निगरानी समूहको सहयोगमा ज्ञापन बुझयौँ ।'-अध्यक्ष गैरेले भने-'यो एउटा आन्दोलनको रूप नै थियो । अहिले भवन समुदायमा हस्तान्तरण भएको छ ।'-उनले खुशी व्यक्त गर्दै भने-'नागरिकले अब गुणात्मक स्वास्थ्य सेवा पाउने छन् ।'

समाजका सबै पक्षको सहभगिता रहेको कार्यक्रममा नेकपा एमालेका रामकुमार नेपाल, नेपाली काङ्ग्रेसका शिवदत्त पौडेल, स्वास्थ्यचौकी प्रमुख जगरनाथ साह, स्थानीय समाज सेवी एवम् प्रधानाध्यापक महेन्द्र चौधरीले लामो समयपछि भवन समुदायले पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीले भवनको मर्मत सम्भारका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले गुणस्तरीय सेवा दिनका लागि गाउँपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग गर्ने बाचा दिए । उनले इन्सेकलाई पनि धन्यवाद दिँदै भविष्यमा पनि रचानात्मक कामको अपेक्षा गरे ।

कार्यक्रममा गाउँपालिकाका उपप्रमुख ममता चौधरीले भवन हस्तान्तरणले गर्दा महिलाहरूलाई निकै फाइदा हुने बताइन् । बर्थिङ सेन्टरसमेत सञ्चालनमा रहेको सो स्वास्थ्य चौकीमा महिलाहरू लाभान्ति हुने उनको भनाई थियो ।


के.सी. लामिछाने