स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा सेवा ग्राही मर्कामा

  ०७७ असार २९ गते

खत्याड गाउँपालिकामा जेठ २८ गतेदेखि सबै स्वास्थ्य चौकिमा औषधी अभाव  भएको छ ।

गाउँपालिकामा रहेका सातवटा स्वास्थ्य चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिनादेखि औषधी अभाव हुँदा स्थानीयहरू निजी  मेडिकलमा औषधी किन्न बाध्य भएका छन् ।

दुई  हप्तादेखि लगातार ज्वरोले थला परेका खत्याड गाउँपालिका —१ का ३९ वर्षिय पृथ्विबहादुर बुढालाई गाउँबाट आधा घण्टा टाढा रहेको सेरी स्वास्थ्य चौकीमा उपचार गर्न जाँदा स्वास्थ्यकर्मिहरूले औषधी नभएको भन्दै फर्काइएको उहाँको पत्नी नन्दादेवी बुढाले इन्सेकलाई बताउनुभयो ।

स्वास्थ्य चौकीमा सामान्य औषधी पनि नहुँदा निजी मेडिकलमा पठाउनुपर्ने बाध्यता भएको चिमाडुग्री स्वास्थ्य चौकीका इन्चार्ज हिमा छिरिङ्ग लामाको भनाई छ ।

चालु आर्थिक वर्षकोलागि गाउँपालिकाले खरिद गरेको ६ लाख बराबरको औषधी मंसिर महिनामै सकिएपछि जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट ल्याइएको औषधीले काम चलाउने गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक टक्क डाँगरले इन्सेकालाई जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ महिनाको २८ गतेबाट सबै स्वास्थ्य चौकीमा औषधी अभाब भएको र अब नयाँ आर्थिक वर्षमा मात्र औषधी खरिदगरि स्वास्थ्य चौकीमा बितरण गरिने छ ।


जीवन सेजुवाल