स्वास्थ्य चौकीमा औषधी अभाव र शौचालय नहुँदा सेवाग्राही मर्कामा परेको गुनासो

  ०७७ साउन १६ गते

फेटा गाउँपालिका–७ पुरैनीया स्वास्थ्य चौकीमा औषधी अभाव हुनुका साथै शौचालय नभएका कारण सेवाग्राही मार्कामा पर्ने गरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

photo20200731bara (1)
२०७५ चैत १७ गते आएको हावा–हुरीले स्वास्थ्य चौकी भवनको छाना उडाएर लगेको र भवन भत्काएको समयदेखि सोही स्थानमा रहेको तत्कालीन गाविसको जिर्ण भवनमा १६ महिनादेखि स्वास्थ्य चौकी सञ्चालन भइरहेको छ ।
उक्त जिर्ण भवनमा अविरल वर्षाको कारण पानी चुहिएर औषधी भिजेको, सुत्केरी सेवा बन्द भएको, खाने पानी र शौचालय नभएकोले सेवाग्राही मार्कामा परेको सोही वडाकी ४५ वर्षीया रुपपरीदेवी साहले बताउनु भयो ।
पेट र टाउको दुःखेकाले साउन १५ गते स्वास्थ्य चौकीमा पुग्दा सो समस्या भोगेको रुपपरीदेवी साहले इन्सेक बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलसँग कुराकानीको क्रममा बताउनु भयो ।

photo20200731bara (2)
सोही ठाउँका २४ वर्षीया नगिना साहको छालामा समस्या भएर औषधी लिन आएको बताउँदै गाउँको स्वास्थ्य चौकीमा आफ्नो परिवार सदस्य सुत्केरी ल्याउन सोधखोज गर्दा सुत्केरी सेवा बन्द भएकाले घर परिवारका सदस्यलाई समस्या भएको कुरा वडा कार्यालयमा राख्दा वास्ता नगरेको गुनासो इन्सेक बारा प्रतिनिधिसमक्ष राख्नु भयो ।
सोही टोलका ७० वर्षीय शङ्कर साहले बिरामीका लागि खाने पानीको अभाव रहेको र सेवाग्राहीलाई शौच गर्न शौचालय नभएकाले ठूलो समस्या परेको बताउनु भयो ।
उहाँले खुला दिसा मुक्त क्षेत्र घोषणा भएपनि बिरामी र स्वास्थ्यकर्मी खेतबारीमा शौच गर्न पर्ने बाध्यता रहेको बताउनु भयो ।

photo20200731bara (3)
सोही टोलकी ३५ वर्षीया शकिला खातुन आफ्नो स्वास्थ्य समस्या र गर्भवती परिवार सदस्यका साथमा आएपनि स्वास्थ्य चौकीमा एउटा मात्र कोठा रहेको र प्रसूती सेवा बन्द भएकोले परीक्षण हुन नसकी निजी क्लिनिकमा गएको बताउनु भयो ।
सोही ठाउँका ७० वर्षीय ताहिर अंसारीले साँघुरो र खाल्डोहरू भएकाले स्वास्थ्य चौकीमा एम्बुलेन्स जान नसक्ने अवस्था रहेको बताउनु भयो ।
गम्भिर बिरामी आएमा स्वास्थ्य संस्थादेखि ५ सय मिटर टाढा एम्बुलेन्स रोकेर बिरामीलाई बोकेर ल्याउनु पर्ने अवस्था रहेको स्वास्थ्य चौकीका प्रमुख अनिल पाण्डेले बताउनु भयो ।
स्वास्थ्य चौकी भवन पुरानो भएको र अबिरल वर्षाको पानी चुहिएर पारासिटामोल, सिग्रो, भोडोन, आइरन, सिपिएम लगायतका औषधी पानीले भिजेको र सोही औषधी वितरण गरिरहेको बताउनु भयो ।
पाँच ओटा कोठा आवश्यक भएकोमा एउटा कोठा मात्र भएकाले बाध्य भएर सुत्केरी सेवा बन्द गरेको प्रमुख पाण्डेले बताउनु भयो ।
उहाँले सरोकारवाला निकायलाई जानकारी दिए पनि केहि सुधार नभएकाले समस्या समाधान गर्न पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिलाई आग्रह गर्नु भयो ।
निःशुल्क उपलब्ध हुने ३५ प्रकारको औषधीमध्ये ३० प्रकारका औषधी मात्र उपलब्ध रहेकोमा सो पनि वर्षाको पानीले ओसिएको स्वास्थ्य सहायक संजय साहले बताउनु भयो ।
स्वास्थ्य चौकी भवन निर्माण, शौचालय, खानेपानी र सडक लगायतका विषयमा प्रदेश २ सरकारसँग पहल गरेर चालु आर्थिक वर्षको २०७८ असार मसान्तसम्ममा पुरा गर्ने गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादले बताउनु भयो ।
उहाँले हावाहुरी आएको समयमा नेपाल सरकारको सहयोगमा व्यक्तिगत घर र सार्वजनिक संस्था नेपाली सेनाले बनाउँदा स्वास्थ्य चौकी छुट्न गएकाले समस्या भएको बताउनु भयो ।
शौचालय नभएकाले नेपाल सरकारले घोषणा गरेको खुला दिसामुक्त क्षेत्र पालना गराउन पहल गर्ने उहाँले बताउनु भयो ।
गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाहरूलाई आवश्यक पर्ने ओषधी गाउँपालिकाको कार्यालयमा स्टोर रहेपनि अबिरल वर्षाका कारण औषधी पठाउन ढिला भएको र साउन १८ गते सम्ममा स्वास्थ्य संस्थामा औषधी पु¥याउने स्वास्थ्य संयोजक कुरान अलिले बताउनु भयो ।


भोलानाथ पौडेल