स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी छन्, औषधि छैन

  ०७६ भदौ २४ गते

सिमकोट गाउँपालिका-२ मा रहेको सामुदायिक स्वास्थ्य एकाई कुम्लिक जिउलामा तीन महिनादेखि औषधिको अभाव भएको स्थानीयले गुनासो गरेका छन् ।

हरेक दिन विभिन्न रोगका बिरामी उपचारका लागि एकाईमा आउने गरेता पनि स्वास्थ केन्द्रमा टाउको दुखेको, ज्वरो आएको, रुघा खोकी, बान्ता, वाकवाकी र झाडा पखाला जस्ता रोगका बिरामीका लागि सिटामोल र ब्रुफिनसमेत नहुँदा उपचार गर्न समस्या भएको एकाई प्रमुख धनजीत भण्डारीले जानकारी दिए ।

सो स्वास्थ्य एकाईमा असारको पहिलो हप्तादेखि औषधि नभएको स्थानीयबासीको आरोप छ । दैनिक जसो चेकजाँचका लागि गर्भवतीदेखि बालबालिका र बुढा पाकासम्मका बिरामी आउने गरेपनि औषधि उपलब्ध गराउन नसकेको प्रमुख भण्डारीले जानकारी दिए ।

एकाईमा गर्भवती महिलालाई आवश्यक आइरन चक्कीसँगै अन्य बिरामीका लागि आवश्यक एसिलक, एमोक्सिलिन, सिटामोल जस्ता सामान्य प्रकारका औषधि अभाव रहेको एकाई प्रमुख धनजीत भण्डारीको भनाई छ ।

एक जना अनमी, दुई जना अहेब र एक जना कार्यालय सहयोगी गरी जम्मा चार जनाको दरबन्दी रहेको सो स्वास्थ एकाईमा औषधि नहुँदा सेवा दिन नसकिएको उनले बताए ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य एकाई संयोजक धु्रवराज सिंहले अघिल्लो वर्ष ०७५/०७६ मा खरिद गरिएको औषधि सकिएकोले अभाव भएको र आर्थिक वर्ष ०७६/०७७ मा आवश्यक औषधि खरिदका लागि बजेट विनियोजन गरी जिल्ला स्वास्थ्य कार्यालयमा पठाइएको बताए ।


नन्द सिंह