स्वास्थ्य केन्द्रमा पानी चुहेर उपचारमा समस्या

  ०७५ असोज ४ गते

इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पानी परेका बेला भवन चुहिने समस्याले उपचार प्रभावित हुने गरेको छ ।

सामाजिक स्वास्थ्य वीमाको उपचार सोही केन्द्रबाट हुन थालेपछि दैनिक ५० जना भन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिने केन्द्रमा पानी परेको समयमा बिरामीको प्राथमिक उपचारमै समस्या हुने गरेको केन्द्रका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

एमबीबीएस डाक्टर रहेको केन्द्रमा उपचार कक्षमै पानी चुहिने गरेको सूर्योदय नगरपालिका-२ का वडाध्यक्ष चन्द्र सुब्बाले बताए ।

'नयाँ भवन बनाउन थालेको सातवर्षबितिसक्यो । अहिलेसम्म निर्माण सम्पन्न हुँदैन ।'-सुब्बाले भने-'सेवाग्राहीलाई सेवा दिनै समस्या छ ।' केन्द्रको उक्त पुरानो भवन करिब ९० वर्षअघि निर्माण भएको वडाध्यक्ष सुब्बाको भनाई छ ।

तत्कालीन समयमा भारतीय व्रिटिस गोर्खाबाट अवकास पाएर घर फर्किएका नेपालीहरूलाई  स्वास्थ्य सेवा प्रदान गर्न व्रिटिस सरकारले भवन निर्माण गरेको थियो, अहिले सम्म त्यही भवनबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको जानकारहरूले बताए ।

नयाँ भवनका लागि भने नेपाल सरकारको तीन करोड ४३ लाख ६४ हजार चार सय २५ रुपियाँ ठेक्का लगाएको थियो ।

मिलेनियम देव एण्ड सायर जेवी कम्पनी इलामसँग ०७० भदौ १८ गते निर्माण सम्पन्न गर्ने गरी ०६९ जेठ १९ गतेदेखि काम सुरू गर्ने सम्झौता भएको थियो ।

तर, नयाँ आर्थिक वर्ष ०७५/०७६ सुरू भइसक्दा समेत भवन निर्माण सम्पन्न नहुँदा बिरामी र स्वास्थ्यकर्मीलाई नै समस्या भएको प्रति वडाध्यक्ष सुब्बाले गुनासो गरे ।


कोकिला ढकाल