स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि अभाव हुँदा बिरामीलाई समस्या

  ०७७ कात्तिक ३० गते

दुधपोखरी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिनादेखि सरकारले वितरण गर्ने निःशुल्क औषधिहरू अभाव हुँदा बिरामीलाई समस्या भएको छ ।

दैनिक डेढ सय देखि दुई सय जना बिरामीलाई सेवा दिने उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा  निःशुल्क औषधिहरू अभाव हुँदा सेवाग्राहीलाई बिना औषधि फर्काउनु परेको दुधपोखरी गाउँपालिकाका प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर दिपक लोहलाले बताउनुभयो ।

‘सरकारले निःशुल्क वितरण गर्ने ४० प्रकारका औषधि स्वास्थ्य केन्द्रमा अभाव भएको छ ।’–उहाँ भन्नुहुन्छ– ‘दैनिक रूपमा २५ देखि ३० जनालाई औषधि अभावको कारण अन्तै पठाउनुपर्छ ।’

उहाँले औषधि नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई नै असजिलो भएको इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

नियमित रूपमा प्रेसर र सुगर जस्ता दिर्घरोगीहरूलाई झनै समस्या भएको मेडिकल अफिसर लोहलाको भनाई छ ।

सुगर र प्रेसर दुबैको औषधि खाने दुधपोखरी गाउँपालिका–२ निवासी ७० वर्षीय रेशमबहादुर गाउँपालिकाको प्राथिमक स्वास्थ्य केन्द्रमा औषधि नपाएपछि जिल्ला सदरमुकाम बेसीशहर जान परेको गुनासो गर्नुभयो ।

‘म त दिर्घरोगी दैनिक औषधि सेवन गर्नुपर्छ ।’–उहाँ भन्नुहुन्छ–‘घर नजिकैको स्वास्थ्य केन्द्रमा औषधि लिन जाँदा छैन भन्छन् ,खानैपर्ने औषधि हुँदा लिनलाई बेशीसहरनै झर्नुपर्यो ।’

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको निर्देशित मिति २०७५ साल साउन ४ गतेको पत्रअनुसार नेपालको संविधानको भाग ३ को धारा (३५) को आधारमा सबै सङ्घिय, प्रदेश र स्थानीय सरकारको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकी लगायतको ठाउँमा निःशुल्क औषधि आवश्यकता अनुसार उपलब्ध हुने निर्देशन गरेको छ ।

मन्त्रालयका तत्कालीन महानिर्देशक डा. गुणराज लोहनीबाट हस्ताक्षरित पत्रमा आवश्यकता अनुसार सम्बन्धित तहगत सरकारले निःशुल्क औषधिको व्यवस्थाको लागि तहगत रूपमै खरिदको अख्तियारी दिएको पत्रमा उल्लेख गरिएको छ ।

तीन पटकसम्म गाउँपालिकालाई अनुरोध गर्दा पनि गाउँपालिकाले औषधि उपलब्ध गराउन चासो नलिएको मेडिकल अफिसर लोहलाको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष छुपिमायाँ गुरुङका अनुसार औषधि ल्याउन कागजी प्रक्रिया मिलाउनुपर्ने भएकोले ढिला भएको बताउनुभयो ।

‘टेण्डर मार्फत औषधि ल्याउनुपर्ने भएकोले औषधि उपलब्ध हुन १५ दिन समय अझै लाग्छ ।’ –अध्यक्ष गुरुङ भन्नुहुन्छ–‘ १५ दिन भित्र गाउँपालिकामा सबै निःशुल्क औषधि उपलब्ध गराउन प्रयासरत छु । ’


दलबहादुर मजाकोटी