स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सुत्केरी महिला समस्यामा

  ०७६ फागुन ३० गते

जिल्लाको तल्लोस्वराडस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा यस क्षेत्रका सुत्केरी महिलाहरू ज्यान जोखिममा राखेर डुङ्गा (किस्ती) मार्फत माहाकाली नदी तरेर प्रसूति सेवा लिन भारत जार्नु पर्ने बाध्यता रहेको छ ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विगत २० वर्षदेखि डाक्टर छैनन् । दुई वर्ष अगाडी आएका डाक्टर पनि १ वर्ष बसेर सरूवा भएपछि स्वास्थ्य केन्द्र डाक्टर बिहीन बनेको हो ।

स्वास्थ्य केन्द्रमा डाक्टर नुहुँदा आफूले ज्यान नै खोखिममा राखेर भारतमा गएर सुत्केरी हुनु परेको शिवनाथ गाउँपालिका–१ की दुर्गा साउदले दुखेसो पोख्नु भयो ।

शर्माली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले प्रसूति गराउन समस्या हुन सक्ने बताउँदै मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लैजान सल्लाह दिएको भएपनि केशरपुर स्वास्थ्य चौकीमा डाक्टर नभएपछि ढुङ्गा तरेर माहाकाली पारी भारत गएर सुत्केरी हुनु परेको साउदको भनाइ छ ।

उहाँले भन्नु भयो –‘सुत्केरी बेथाले च्यापेको अवस्थामा डुङ्गाबाट महाकाली नदी तरेर पारि भारत गइयो । यात्रामा निकै सास्ती भएपनि प्रसूति भने सफल भयो । जिल्ला अस्पताल वा डडेल्धुरा पुग्नुभन्दा पारिका अस्पतालमा पुग्न नजिक र खर्च पनि कम लाग्ने भएकाले हामी त्यो बेला उतै गयौ । आफूजस्तै गाउँका धेरै महिला सुत्केरी हुन महाकाली तरेर भारतीय अस्पताल नै जाने गरेका छन् ।’

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १, २, ४ र ५ लगायत शिवनाथ गाउँपालिका – २ का गर्भवती महिलाले सीमा नदी तरेर भारतीय  अस्पताल जानु पर्ने बाध्यता रहदै आएको छ । स्वास्थ्य चौकी  र जिल्ला सदरमुकाम कै अस्पतालहरूमा समेत स्रोतसाधन र जनशक्ति अभाव हुने गरेका कारण यस क्षेत्रका सुत्केरी महिला सहित अन्य बिरामीहरू उपचारका लागि सिमापारीका भारतीय अस्पतालमा जान बाध्य छन् ।

तल्लोस्वराड क्षेत्रका स्थानीय बिरामी हुँदा सिमापारी भारतीय अस्पताल नजिक भएकोले जोखिम मोलेर भए पनि यस क्षेत्रका स्थानीयहरू सिमापारीका भारतीय अस्पतालबाट स्वास्थ्य सेवा लिदै आएका  शिवनाथ गाउँपालिका – २ स्थित शर्माली स्वास्थ्य चौकीकी अनमी कृष्णा चौधरीले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘पारिका अस्पतालमा प्रसूति सेवा लिएर आएका महिलाहरू यहाँका स्वास्थ्य चौकीमा घाउ सफा गर्न र सुई लगाउन आउनु हुन्छ । हामीले त उता रेफर गर्ने कुरा भएन । नमिल्ने भएकाले गर्दैनौ पनि । यता दौडधुप गर्दागर्दै ज्यान जोखिममा पार्नुभन्दा महाकाली तरेर भए पनि उतै जानु ठीक ठान्दछन् यस क्षेत्रका स्थानीयहरू ।’

तल्लोस्वराड क्षेत्रमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएका कारण धेरै खर्च गरेर घण्टौँ लगाएर जिल्ला अस्पताल, डडेल्धुरा र तराईका अन्य अस्पताल पुग्नुभन्दा ज्यान जोखिममा राखेर भए पनि महाकाली नदी तरेर बिरामीहरूले भारतीय अस्पतालबाट स्वास्थ्य सेवा लिने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउदले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘जटिल प्रकारका डेलिभरी र बिरामी पनि पारि इण्डियाकै अस्पताल पुग्छन् । सीमा आसपासका बासिन्दालाई पारि जान छिटो हुन्छ । हाम्रो स्वास्थ्य संस्थामा सुधार हुन सकेको छैन् । स्थानीय सरकारको जिम्मामा भएका स्वास्थ्य संस्थाले आधारभूत सेवा दिदै आएको भए पनि जटिल अवस्थाका बिरामीलाई स्वास्थ्य सेवा दिन नसकेको अवस्था छ । अहिले वडामा बर्थिङ सेन्टर स्थापना भएपछि पारि जानेको संख्यामा केही कमी आएको छ ।’

यहाँका स्थानीयलाई सिमापारी भारतीय बजार चम्पावत जान सहज छैन् । महाकाली नदीमा पुल नहुँदा हिउँदमा ट्युब र वर्षायममा डुङ्गा प्रयोग गर्नु पर्ने बाध्यता छ । चम्पावतमा सुविधासम्पन्न र विशेषज्ञ डाक्टरबाट सेवा पाइने भएकाले जोखिम मोलेरै भए पनि महाकाली नदी तरेर सिमापारीका अस्पतालमा उपचार गराउँदै आएको स्थानीयहरूको भनाइ छ ।

photo20200313baitadi


नरी बडु