स्वास्थ्य केन्द्रमा डाक्टर र औषधि अभाव, सेवाग्राही मर्कामा

  ०७६ साउन १५ गते

स्वास्थ्य केन्द्रमा डाक्टर र औषधि नहुँदा बिरामी मर्कामा परेका गरेका छन् । शुद्धोधन नपा–४ की सम्झना क्षेत्रीले ज्वोरोका कारण बिरामी भएकी १२ वर्षे छोरीलाई नजिकै रहेको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिन् तर अस्पताल पुग्दा डाक्टर थिएनन् ।

 

डाक्टरको खोजी गर्दा उनले बाहिर गएको जानकारी पाइन् । त्यसपछि मेडिकलमा गएर उपचार गराएको बताइन् ।

 

क्षेत्री मात्र होइन शुद्धोधन नपा–२ की सुमित्रा यादव पनि बिरामी भएर अस्पताल पुगिन् । उनी पुग्दा अस्पतालमा डाक्टर थिएनन् ।

 

‘डाक्टरलाई जँचाएर फर्कन्छु भन्ने थियो डाक्टर नभएपछि नर्सलाई भेटेर औषधि लिएर फर्के । खै तीन जना डाक्टर अस्पतालमा बस्छन् भन्छन् तर बिरामी भएर जाँदा एउटा डाक्टरको पनि मुख देख्न पाइनँ ।’–उनले भनिन् ।

 

सम्झना र सुमित्रा त प्रतिनिधिमूलक पात्र हुन् । उनी जस्ता बिरामीहरू थुप्रै उपचारका लागि अस्पताल पुगेर डाक्टर नभेटाएर फर्कने गर्छन् ।

 

एक जना स्थायी डाक्टर र दुई जना अस्थायी करार डाक्टर रहेको अस्पतालमा एक जना पनि डाक्टर नबस्नु भनेको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई महत्व नदिनु मात्र होइन नागरिकको उपचार गर्न पाउने अधिकार पनि हनन् भएको छ । सेवा प्रदायक निकायहरू जनताप्रति कत्तिको जवाफदेही छन् भन्ने प्रश्न पनि हो ।

 

मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर हरि गैरे र डाक्टर इश्वरी घिमिरे दुवैजना डाक्टर विदामा बसेका छन् ।

 

अस्पतालका प्रमुख डाक्टर सुस्मित शर्मा प्राय गरेर २ बजेदेखि अस्पताल छोडने गरेको स्थानीयहरूको आरोप छ । यस विषयमा डाक्टर सुस्मित शर्माले सधैजसो अस्पतालमा समय दिने गरेको र कहिलेकँहि व्यक्तिगत कामका लागि बाहिर जाने गरेको बताए ।

 

इमर्जेन्सी सेवा समेत विस्तार भएको अस्पतालमा डाक्टर नै नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा आउने सेवाग्राही मर्कामा परेको विषयमा कुरा गर्दा एकदिनको लागि कार्यालयमा नभएको बताए ।

 

उनले नेपाल सरकारले निशुल्क व्यवस्था गरेका औषधिहरू मध्येका कतिपय औषधिहरू पनि समयमा नआउँदा कहिलेकँहि समस्या भएको बताए ।

 

प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष समेत रहेका शुध्द्धोधन गाउँपालिकाका–४ का अध्यक्ष राजेन्द्र कँडेलले प्राथमिक स्वास्थ्य संस्थालाई सुधार गर्नको लागि आफूहरू लागि परिरहेको बताए ।

 

विगतको तुलनामा सुधार उन्मूख रहेको भन्दै कँडेलले अहिले पनि सेवाको विषयमा आफूहरू सन्तुष्ट नरहेको बताए ।

 

चिकित्सकसँगै सरकारले निशुल्क उपलब्ध गराउने भनिएका औषधिहरू अहिले पनि अस्पतालमा कमी भएको डाक्टर सुम्मित शर्माले बताए ।

 

शर्माले भने सरकारले उपलब्ध गराउने यस अस्पतालबाट ७० प्रकारका औषधिहरू उपलब्ध गराउनु पर्ने हो तर मानसिक समस्या भएका बिरामीहरूका लागि प्रयोग हुने औषधिहरू फेनोवारविटोन र कार्वापामिजिन नाम औषधिहरू अहिले पनि प्राथमिक स्वास्थ्य संस्थामा कम भएको बताए ।

 

प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा इमरजेन्सी सेवा, आमा सुरक्षा कार्यक्रम, २४ घण्टे प्रसूति सेवा, गर्भवती जाँच सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, खोप सेवा, जनरल ओपिटी सेवा, पोषण, ल्याव सेवा तथा प्रयोगशाला सेवा, बहिरङ्ग उपचार सेवा, क्षयरोग, कुष्ठरोग लगायतका सेवाहरू प्रवाह गर्दे आइरहेको छ ।


रीमा बि.सी.