स्वास्थ्य केन्द्रमा औषधि अभाव, सेवाग्राही रित्तै फर्कँदै

  ०७५ पुस ६ गते

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधिको अभाव भएको छ । ६ महिनादेखि स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि उपलब्ध गराइएको छैन ।

औषधि अभाव भएपछि सेवाग्राहीहरू उपचार बिना फिर्ता भइरहेका छन् । स्थानीय तह गठन भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतको सेवा गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।

स्थानीय तहले नै स्वास्थ्य चौकीहरूमा औषधि उपलब्ध गराउनु पर्नेमा ६ महिनादेखि औषधिको व्यवस्था हुन सकेको छैन ।

स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरूमा ६० प्रकारका औषधि सम्बन्धित स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा असारदेखि औषधिको अभाव हुँदै आएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरका डा. सञ्जयकुमार यादवले असारदेखि औषधि अभाव रहेकोमा पुस ५ गते मात्र ६ प्रकारका औषधि आएको जानकारी दिए ।

उनले बालबालिका, सुत्केरी र आकस्मिक सेवाका औषधि बाहेक अन्य औषधिहरू अभाव रहेको बताए । ६ प्रकारका औषधि पनि एक महिनाको लागि मात्र प्राप्त भएको उनको भनाई छ ।

भिटामिन ए, अलवेन्डाजोल, कन्डम, डिपो सुई, सिटामाल सिरप, एनस्थेसियाको सुई, आँखामा प्रयोग हुने औषधि अहिले पनि स्वास्थ्य केन्द्रमा उपलब्ध छैन ।

स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि २ सय जना रोगीहरू उपचारको लागि आउने गरेको चिकित्सक यादवको भनाई छ ।

औषधि अभावमा सेवाग्राहीहरू अमिलो मन बनाएर फर्किन बाध्य छन् । असारदेखि नै स्वास्थ्य संस्थाहरूले औषधिको माग गरेको भएपनि गाउँपालिकाले औषधि  उपलब्ध गराएको छैन ।

धोविनी गाउँपालिकाका अध्यक्ष नन्दलालप्रसाद कुर्मीले औषधिको आपूर्ति व्यवस्था छिटै मिलाउने बताएका छन् । उनले औषधिको समस्या नहुने गरी काम गरिने बताए ।


केसी लामिछाने