स्वास्थ्यचौकी नभएका कारण स्थानीयहरू स्वास्थ्य सेवाबाट वञ्चित

  ०७६ कात्तिक २५ गते

संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको भएपनि शिखर नगरपालिका–१० थाप्सा र लाम्बाटाका स्थानीयहरू स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् ।

गाउँमै स्वास्थ्यचौकी नहुँदा र नजिकैको स्वास्थ्यचौकी पुग्नलाई समेत सहजबाटो नभएका कारण उनीहरू स्वास्थ्य सेवाबाट बन्चित हुँदै आएका हुन् ।

स्वास्थ्यचौकी गाउँमा नभएको र नजिकको स्वास्थ्यचौकी जानका लागि समेत यातायताको सुविधा नभएका कारण बिमारीलाई पिठ्यूँमा बोकी दुई घण्टाको बाटो हिँडेर मात्रै स्वास्थ्य सेवा लिन पाइने शिखर नगरपालिका–१० लाम्बाटाकी ५० वर्षीया पशुपति बिकले दुखेसो पोखिन् ।

उनले भनिन्–‘मेरो समुदायका कोही  बिरामी भएपछि दुई घण्टा बोकेर बिरामीलाई बानेडुग्रीसैन स्वास्थ्यचौकी पुर्‍याउने गरेका छौँ । बाटो नभएका कारण स्ट्रेचरमा लैजान पनि सकिँदैन ।’

शिखर नगरपालिका–१० थाप्साकी ३० वर्षीया गर्भवती बिकले गर्भवतिको नियमित चेकजाँच गर्नका लागि दुई घण्टाको ओरालो बाटो हिँडेर स्वास्थ्यचौकी पुग्ने गरेको दुखेसो पोखिन ।

शिखर नगरपालिका–१० थाप्साका नरी बलायरले वाडामा स्वास्थ्यचौकी नभएको र नजिकको स्वास्थ्य चौकीमा पुग्नका लागि यातायात तथा बाटोघाटोको सुविधा नभएका कारण कतिपय बिमारीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको बताए ।

थाप्सा र लाम्बाटा गाउँमा स्वास्थ्यचौकी नभएको र नजिकको स्वास्थ्यचौकी पुग्नका लागि यातायातको सुविधा समेत नभएका कारण अशक्त र गर्भवती महिलालाई समस्या हुने गरेको बनलेक स्वास्थ्यचौकी, बानेडुग्रीसैनका प्रमुख बलबहादुर खत्रीले बताए ।

शिखर नगरपालिका–१० का वडा अध्यक्ष मिन बलायरले थाप्सा र लाम्बाटाका स्थानीयहरूको स्वास्थ्य समस्यालाई ध्यानमा राखी सामुदायिक स्वास्थ्य भवन निर्माण कार्य सुरू गरिएको र थाप्सा र लाम्बाटासँग सडकसञ्जाल जोडन समेत ६ लाख रुपियाँ बजेट विनियोजन गरिएको बताए ।

शिखर नगरपालीकाकी उपमेयर धौलीदेवी रावलले सडक निर्माणको कार्य भइरहेको बताउँदै सामुदायिक स्वास्थ्य भवन निर्माणाधिन अवस्थामा रहेकाले केही महिनादेखि स्थानीयहरूले सेवा पाउने बताइन् ।

Photo20191111Doti


बासुदेव जोशी