स्वास्थ्यचौकीमा स्रोत र साधन नहुँदा सुत्केरीको मृत्यु

  ०७६ साउन १६ गते

स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी सर्केगाड गाउँपालिका–४ स्थित साँया गाउँकी २० वर्षीया अनरूपा टमटाको साउन १५ गते बिहान ११ बजे मृत्यु भयो ।

बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी टमटालाई सुत्केरी व्यथा लागेपछि प्रसूति गृहमा ल्याएता पनि उपकरण नहुँदा टमटा र पेटमा भएको बच्चाको मृत्यु भएको आफन्त धनसिंह टमटाले बताए ।

मृतक टमटालाई सोही दिन बिहानबाट एक्कासी सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा पुर्‍याएता पनि बच्चा पाउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको स्वास्थ्यचौकीका प्रमुख देवेन्द्र विर मगियाले जानकारी दिए ।

सुत्केरी व्यथा लागेकी टमटालाई स्वास्थ्यचौकीमा पुर्‍याएता पनि प्रसूतिका स्रोत र साधनको कमीले, आमा र पेटभित्र रहेको बच्चा दुवैलाई बचाउन नसकिएको प्रमुख मगियाको भनाई छ ।

दुर्गम जिल्ला हुम्लाका प्राय स्वास्थ्यचौकीमा सुत्केरी आमाको लागि औषधि, उपकरण नहुनुले अकालमा नै ज्यान गुमाउने गरेका छन् ।

विकट जिल्ला हुम्लामा सडक सञ्जालले नछोएका कारण पनि यतायातको सुविधा नहुँदा टमटाले अकालमै ज्यान गुमाउनु परेको आफन्तले गुनासो गरेका छन् ।

सुत्केरी व्यथा लागेकी महिलाहरूलाई उद्धारका लागि कर्णाली प्रदेशद्वारा हेलिकप्टरको व्यवस्था गरेको भएता पनि सो को व्यवस्था गर्न नभ्याउँदै टमाटाको मृत्यु भएको आफन्तको भनाई छ ।


नन्द सिंह