स्वास्थ्यचौकीमा औषधिको अभाव

  ०७६ असोज १८ गते

हुम्लाको ताँजाकोट गाउँपालिका–२ मैला स्वास्थ्यचौकीमा औषधि अभावका कारण उच्च रक्तश्राव भएकी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

रक्तश्रावका कारण असोज ९ गतेबाट बिरमी भई घरमै थला परेकी ताँजाकोट गाउँपालिका–४ की ३५ वर्षीया रिठु जैसीको असोज १७ गते उद्धार गरिएको हो ।

सो स्वास्थ्यचौकीमा एक महिनादेखि औषधिको अभाव भएको देखिए पनि रक्तश्रावलाई रोक्ने औषधिको समेत नाम थाहा नभएका स्वास्थ्यकर्मी हुम्लामा भेटिएका छन् ।

सो बिराम निको औषधिको नाम के हो ? भनी इन्सेक प्रतिनिधिले बुझ्दा मैला स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट कमल ढकालले आफूलाई औषधिको नाम समेत थाहा नभएको बताए ।

आर्थिक अवस्था कमजोर भएकी जैसी रत्तश्रावले थलिएपछि प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको पहल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष लालकेश जैसीको समन्वयमा असोज १७ गते हेलिकप्टरमार्फत सुर्खेत लगिएको भएको मैला स्वास्थ्यचौकी हेल्थ असिस्टेन्ट ढकालले जनाए ।

६ दिन पहिला स्वास्थ्यौकीमा उपचार गर्न आएकी जैसी आर्थिक अवस्था कमजोर भएपछि बिरामीकै अवस्थामा घर फर्किएकी थिइन् ।

राष्ट्रिय सडक सञ्जालले नछोएको जिल्ला हुम्लामा गाडी सञ्चालन भइ दिएको भए बिरामी जैसीले नौ दिन घरमै थला परेर बस्नु नपर्ने नेकपा जिल्ला अध्यक्ष जैसीले बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा उच्च रक्तश्राव भएकी महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् ।

असोज १६ गते ताजाँकोट गाउँपालिकाबाट सूचना प्राप्त भए पनि बिरामीको उद्धार भने असोज १७ गते प्रदेश अस्पताल सुर्खेतमा पठाइ उनको उपचार भइरहेको प्रजिअ भट्टराईको भनाई छ ।


नन्द सिंह