स्वास्थ्यचौकीबाट 'म्याद' गुज्रेका औषधि वितरण

  ०७४ असोज २४ गते

स्थानीय स्वास्थ्य संस्थामा खटाइएका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको उत्तरी क्षेत्रको दुर्गम गाउँपालिका स्थित लिमीका स्थानीय बासिन्दाले लामो समयदेखि म्याद सकिएको औषधि प्रयोग गरिरहेको फेला परेको छ ।

चीनको स्वःशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका-६ मा पर्ने तिल, हल्जी र जाङ्ग गरी तीन गाउँको बीचमा भएको लिमी स्वास्थ्यचौकीबाट 'म्याद' सकिएका औषधीहरू बिक्री वितरण भइरहेको तथ्य बाहिर आएको हो ।

उपचारका लागि अन्त जाने विकल्प नहुँदा म्याद सकिएकै औषधिहरू सेवन गर्न बाध्य भएको स्थानीय पेमासाङ्गे तामाङले बताए । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि एक बोरा औषधिको हेरचाह र वितरण गर्ने काम गर्दै आएका स्थानीय आम्ची तामाङले इन्सेक प्रतिनिधिसँग भने-'हामीलाई कति म्याद छ/छैन थाहा नै हुँदैन । सामान्य टाउको दुखेको, ज्वरो आएको र झाडाबान्ताको औषधिबारे जानकारी गराएकाले त्यही अनुसार औाषधि दिने गरेको छु ।'

गएको असारमा नाम्खा गाउँपालिकाको योजना तर्जुमाको समयमा केही स्वास्थ्यकर्मी आएपनि केही दिनमै फर्किएको तामाङले बताए । स्थानीय आधार विकास नेपालका स्वास्थ्यकर्मी स्वास्थ्यसंस्थामा आएपछि मात्रै आफूले औषधिको म्याद सकिएको थाहा पाएको उनले बताए ।

नेपाल ट्रष्ट नामक स्थानीय गैरसरकारी संस्थाले केही वर्षपहिले निर्माण गरेको स्वास्थ्य संस्थाको भवनमा बोरामा प्याक गरेर राखिएको उक्त औषधिमध्ये सबैभन्दा बढी भएको इमेनोरम, पारा सिटामोल, एमजिटलगायतका औषधिको म्याद गएको डिसेम्बरमै सकिएको छ ।

त्यस्तै अरू औषधिको पनि म्याद सकिएको छ । चामलको सेतो बोरामा प्याक गरेर राखिएका सबै औषधिको म्याद सकिएको स्वास्थ्य शिविरमा गएको आधार विकास नेपालका कञ्जोक लामाले जानकारी दिए । उनले लिमी स्वास्थ्य चौकीलाई सरकारले म्याद सकिएको औषधि डिष्पोज गर्ने क्षेत्रका रूपमा हेरिएको टिप्पणी गरे ।

स्थानीय स्वास्थ्यचौकीबाट ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भनिएता पनि लिमी स्वास्थ्यचौकीमा अहिले १५ प्रकारको मात्रै औषधि रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाले भने लिमीको अवस्थाका बारेमा अनविज्ञता प्रकट गरेको छ । निमित्त जिल्ला स्वास्थ्य प्रमुख धनजीत रोकायाले भने म्याद सकिएको औषधि वितरणबारे आफूलाई जानकारी नरहेको बताए ।


नन्द सिंह