स्वास्थ्यको अधिकारबाट अधिकांश नागरिक वञ्चितः सरोकारवाला

  ०७३ कात्तिक १० गते

जिल्लाका अधिकांश नागरिक स्वास्थ्यको अधिकारबाट बञ्चित भएको कात्तिक १० गते आयोजित एक कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरूले बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा चौतारामा आयोजित 'सिन्धुपाल्चोक जिल्लाको स्वास्थ्य अधिकारको अवस्था' विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरूले सो कुरा बताएका हुन् ।

भौगोलिकताको कठिनाइले स्वास्थ्य संस्थाहरूमा नागरिकहरूको पहुँच नहुनु, निःशुल्क वितरण गरिने औषधिसमेत स्वास्थ्य संस्थामा नहुनु, ग्रामीण भेगका अधिकांश स्वास्थ्य संस्थाहरूमा कार्यालय सहयोगीबाट औषधि वितरण हुनु जस्ता समस्या भएकाले स्वास्थ्यको अधिकारबाट धेरै नागरिक वञ्चित हुनुपरेको सरोकारवालाहरूले औँल्याएका हुन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेन्द्र चौरसियाले केन्द्रबाट पर्याप्त औषधि र स्वास्थ्यकर्मी उपलब्ध हुन नसक्दा जिल्लामा समस्या उत्पन्न भएको बताए ।

जिल्लामा स्वास्थ्यको अधिकार उपलब्ध गराउन समस्या देखिएकाले मानव अधिकार आयोगको तर्फबाट तत्काल स्वास्थ्य मन्त्रालयका सचिवलाई जानकारी गराउने राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दिपेन्द्रबहादुर सिंहले बताए ।

कार्यक्रममा जिल्ला स्थित नागरिक समाजका प्रतिनिधिहरू, पत्रकारहरू, मानव अधिकारकर्मीहरू, स्वास्थ्यसँग सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।


नातिबावु धिताल