स्वास्थ्यकर्मी र औषधि अभाव हुँदा बिरामी समस्यामा

  ०७६ भदौ २८ गते

कलैया उपमहानगरपालिका–६ कलैयाको मुख्य चोकदेखि दक्षिणतर्फ रहेको जिल्ला अस्पतालमा जिल्लाका विभिन्न गाँउ र जिल्ला बाहिरबाट बिरामी आउने गरेका छन् ।

कलैया अस्पतालमा विगत एक वर्षदेखि स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा बिमारीलाई समस्या भएको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रेमशङ्कर चौरसियाले बताए ।

उनले प्रत्येक दिन विभिन्न रोगका बिरामी उपचारका लागि कलैया अस्पतालमा आउने गरेता पनि चिकित्सक र औषधि नभएकाले समस्या भएको बताए ।

अस्पतालमा ऐनेस्थेसिया, जनरल हेल्थ, सर्जरी, ओटोरिनोल्यारिगलोजी, पिडियाटिक, स्त्री रोग, जनरल नर्सिङलगायतका सेवा लिन बिरामी आउने गरेको चौरसियाले बताए ।

प्रसूति, गर्भवति, टाउको दुखेको, भाइरल ज्वरो, रुघाखोकी, दुर्घटनामा परी हार्ड जोर्नी, नशाको उपचार, एक्सरे गर्न पर्नेमा ४० प्रकारका औषधि नभएकाले व्यावस्थापन हुन नसकेको बताए ।

१५ महिनादेखि औषधि खरिद नभएकाले स्टक सकिँदै गएर अभाव सृजना भएको उनले बताए । कलैया अस्पतालमा चिकित्सक सहित ६० जनाको दरबन्दी रहेतापनि स्थायी चिकित्सक एक जना पनि नरहेको उनले बताए ।

उनले चार जना छात्रावृत्ति करारमा ६ महिनाका लागि र करारमा तीन जना गरी जम्मा सात जना एमविविएस चिकित्सक रहेको बताए ।

बारा क्षेत्र नं ३ ख का प्रदेश सभा सदस्य पारस साहले मेडिकल सुपरिटेन्डेन्ट डा.प्रेमशङ्कर चौरसिया, प्रदेश सरकारका मन्त्री र आफू बसेर सल्लाह गरी यो समस्या समाधान गर्ने बताए ।

उनले तत्काल आफ्नो निजी रकमबाट भएपनि अस्पताललाई चाहिने सबै सामग्री खरिद गर्न रकमको व्यवस्था गरी अस्पताल सञ्चालन गर्न सहयोग गर्ने उनले बताए ।

कलैया उपमहानगरपालिका–८ बरेवाका ३८ वर्षीय रामप्रसाद यादवले २१ वर्षीया आफन्त पिङ्की यादव बिरामी भएर आएपनि दुई घण्टापछि मात्र स्वास्थ्यकर्मी आएको बताए ।

उनले निःशुल्क पाउने औषधि फार्मेसी बन्द रहेकाले निजी औषधि पसलबाट किनेर ल्याउन बाध्य भएको गुनासो गरे ।


भोलानाथ पौडेल