स्वास्थ्यकर्मी बस्ने ठाउँ नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुन सकेन

  ०७६ मङ्सिर १८ गते

म्याग्दे गाउँपालिका–२ जामुने बजारमा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भएपनि सुत्केरी गराउने कर्मचारी बस्ने ठाउँ नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुन सकेको छैन ।

तालिम प्राप्त प्राविधिक सहित बर्थिङ सेन्टर स्थापना गरिएपनि रातको समयमा कर्मचारी बस्ने ठाउँ नहुँदा बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको हो । ठाउँ अभावका कारण दिउँसो पनि सुत्केरी सेवा सञ्चालन गरिएको छैन ।

रातको समयमा महिला स्वास्थ्यकर्मी बस्ने ठाउँ नहुँदा चौबिसै घन्टा खुल्ला गर्नुपर्ने उक्त स्वास्थ्य चौकी ५ बजे पछि बन्द हुने गर्छ ।

सो वडाको जनसङ्ख्या ३ हजार ४ सय भन्दा बढी रहेको हुँदा बर्थिङ सेन्टरको निकै अभाव खड्किएको जामुने स्वास्थ्यचौकीका प्रमुख अहेव दिनेश पण्डितले बताउनुभयो ।

चार वर्ष अघि नै बर्थिङ सेन्टर कायम गरिएपनि उक्त स्वास्थ्य चौकीमा अहिलेसम्म एक जनाको पनि सुत्केरी नगराइएको अहेव पण्डितले जानकारी दिनु भयो ।

जामुनेकी महिला अगुवा राधा रानाभाटले बर्थिङ सेन्टरमा चौबिसै घन्टा बस्नु पर्ने कर्मचारीलाई आवासको व्यवस्था गर्न नसक्दा सो सेवाप्रभावकारी हुन नसकेको बताउनुभयो ।

उहाँले वडा कार्यालयले कर्मचारीको आवास व्यवस्थापन गरेर सेवालाई सञ्चालन गर्न पहल गर्नुपर्ने बताउनुभयो  ।

जामुने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् म्याग्दे गाउँपालिका–२ का अध्यक्ष चन्द्रबहादुर रानाभाटले स्थान अभावले कर्मचारी बस्ने ठाउँको व्यवस्था गर्न नसकिएको बताउनुभयो ।

स्वास्थ्य चौकीको नयाँ भवन बन्ने क्रममै रहेको हुँदा अब नयाँ भवन सम्पन्न भएपछि मात्र आवास व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।

तर, गत असार मसान्तमै सम्पन्न गरि हस्तान्तरण गर्नुपर्ने सो भवन यसअघि ठेकेदार सम्पर्कविहीन हुँदा त्यसै अलपत्र बनेको उहाँले बताउनुभयो ।

गत कात्तिक २८ गते सो स्वास्थ्यचौकीको भवनमा कार्यरत रहेको अवस्थामा दुई भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएपछि भवन निर्माणको काम पुरै अवरुद्ध भएको वडाअध्यक्ष रानाभाटले बताउनुभयो ।

म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले नयाँ स्वास्थ्य चौकी भवन तयार भएपछि बर्थिङ सेन्टर सहितको सेवा उपलब्ध गराउने योजना भएपनि भवन निर्माण पुरा हुन समय लाग्ने हुँदा अहिले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको बताउनुभयो ।


प्रकाशचन्द्र भट्टराई