स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य जाँचमा समस्या

  ०७७ जेठ २२ गते

इलाम कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा कैदीबन्दीको स्वास्थ्य जाँचमा समस्या उत्पन्न भएको छ ।

एक जना अहेबको दरबन्दी रहेको कारागारमा नौ महिनायता स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्यकर्मी नहुँदा चेकजाँचका लागि कैदीबन्दीहरूलाई इलाम अस्पताल पुर्याउनु पर्ने बाध्यता छ ।

रूघाखोकी लगायत साधारण समस्याका लागि समेत कैदीबन्दीलाई जिल्ला अस्पताल पुर्याउनु पर्दा समस्या भएको कारागार प्रमुख प्रदीप श्रेष्ठले बताउनु भयो ।

‘समय पहिला जस्तो छैन, कोरोना भाइरसको जोखिम बढ्दै जाँदा कैदीबन्दीलाई अस्पताल ल्याउन र पुर्याउन समस्या छ ।’ श्रेष्ठले भन्नुभयो ‘ज्वरो, उच्च रक्तचाप,रूघाखोकी जस्ता बिरामीलाई चेकजाँच गर्न पनि अस्पतालनै ल्याउनु पर्ने बाध्यता छ ।’ श्रेष्ठका अनुसार कम्तीमा दुई–दुई दिनको फरकमा कैदीबन्दीलाई अस्पताल लैजानु पर्ने हुन्छ ।

कारागारमा रहेका कैदीबन्दीमा कोरोना भाइरसको सङक्रमण देखिएको छैन । तर हिरासतबाट पठाइने व्यक्तिहरूबाट भने सङ्क्रमण फैलने खतरा रहेको कारागार प्रमुख श्रेष्ठले बताउनु भयो । ‘हिरासतमा रहेकाको आरडीटी, पीसीआर केही पनि परीक्षण नगरी कारागार पठाइन्छ, कारागारमा पनि कोरोना परीक्षणको व्यवस्था छैन,जसले गर्दा समस्या छ’ श्रेष्ठले भन्नुभयो ।

कारागारमा रहेका स्वास्थ्यकर्मी ०७६ असोज १ गते देखि सरूवा भएर गएका छन् । उक्त रिक्त स्थानमा विभागबाट खटाइएका स्वास्थ्यकर्मी नआउँदा सबै कैदीबन्दीलाई समस्या भएको कारागारका चौकीदार प्रेमवाला राईले बताउनुभयो ।


कोकिला ढकाल