स्वास्थ्यकर्मी नहुँदा स्थानीयलाई समस्या, स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा सञ्चालन

  ०७६ कात्तिक ६ गते

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूस्थित स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय समस्यामा परेका छन् ।

स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा स्थानीय सहयोगी हरेदार पुष्करबहादुर ऐतवालले स्वास्थ्य चौकी खोल्ने र बन्द गर्ने गर्दै आएका छन् ।

उनीबाहेक स्वास्थ्य चौकीमा एक जना पनि कर्मचारी छैनन् । स्वास्थ्य चौकीका पाले ऐतवालले बिहान १० बजे स्वास्थ्य चौकीको ढोका खोलेर घाम ताप्दै फर्किने गरेका छन् ।

सामान्य सिटामोल, झाडापखालाको औषधि दिनेसम्म कर्मचारी कार्यालयमा नरहेको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।

उनले भने–‘छाङ्गरू स्वास्थ्य चौकीका इञ्चार्ज सन्तोषसिंह कुवँर, अनमी धर्मपति बुढाथोकी र अनमी सङ्गीता सुनुवार कर्मचारी थिए । तर, अहिले तीनै जना समयोजनसँगै कहाँ गए भन्नेसम्म जानकारी छैन । स्वास्थ्य चौकीमा कर्मचारी नभएको बारे प्रमुख प्रशासकीय अधिकृत रामदत्त जोशीलाई समेत फोनमार्फत जानकारी गराई सकेका छौँ । स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजनपश्चात स्वास्थ्य चौकीमा कर्मचारीले आउनै छोडेका छन् ।’

व्यास गाउँपालिका–१ का दुई ओटा बस्ती छाङ्गरू र तिङ्करका स्थानीयले सिटामोल समेत खान पाएका छैनन् । कार्यालय सहयोगीले औषधि चिन्दैनन् । सामान्य बिरामी हुँदा पनि स्थानीयले भारतीय मेडिकल धाउनुपर्ने अवस्था आएको उनले बताए ।

औषधि लिन स्वास्थ्यचौकी पुगेका व्यास गाउँपालिका–१ का जीतबहादुर बोहरा कर्मचारी नहुँदा रित्तो हात फर्किनु परेको दुखेसो पोखे ।

उनले भने–‘सदरमुकाम खलङ्गाबाट तीनदेखि चार दिन लगाएर व्यास पुगिन्छ । ६ महिना कर्मचारी व्यास आएर सेवा गर्थे । अहिले त स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजन भन्दै एउटै पनि कर्मचारी गाउँमा छैनन् । जसको कारण सामान्य औषधि समेत खानबाट वञ्चित भएका छौँ ।’

व्यासमा सुरक्षित प्रसूति केन्द्र सञ्चालन भएको भएपनि स्वास्थ्यकर्मी नभएका कारण विगतदेखि नै सेवाग्राही आउँदैनन् ।

व्यास गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्रसिंह कुँवर कर्मचारीको समायोजनका कारण समस्या भएको बताउँछन् । केही कर्मचारी समायोजनसँगै गएका छन् । नयाँ आउने कर्मचारी अझै व्यास गाउँपालिका पुगेका छैनन् । उनले भने–‘कर्मचारी आउने बित्तिकै खटाउने काम भइरहेको छ ।’

व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त जोशीले स्वास्थ्य क्षेत्रमा नयाँ समायोजन भएर आएका कर्मचारी खटाउन निर्देशन भइसकेकोले केहीदिन मै समस्या समाधान हुने बताए ।

उनले भने–‘हाल व्यास गाउँपालिकाका ६ ओटा वडामा पाँच ओटा स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन् । अधिकांश स्वास्थ्य चौकी करार कर्मचारीको भरमा सञ्चालन गर्नु परेको छ । कर्मचारी अभावका कारण करारका कर्मचारीले कार्यालय सञ्चालन गरिरहेका छन् ।’

संविधानको धारा २५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क र आकस्मिक सेवाबाट वञ्चित गरिने छैन भन्ने प्रावधान राखेको भएपनि एक सातादेखि व्यास गाउँपालिका–१ का स्थानीय आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् ।


नरेन्द्रसिंह कार्की