स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

  ०७६ असोज २० गते

जिल्ला कारागार दार्चुलामा एक वर्षदेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । स्वास्थ्यकर्मीको दरबन्दी पठाएपनि कर्मचारी नपठाउँदा उपचारमा समस्या भएको जिल्ला कारागार दार्चुलाका निमित्त जेलर मानबहादुर खडायतले जानकारी दिए ।

‘दुई वर्ष अघिसम्म हेल्थ असिस्टेन्ट (एचए) को दरबन्दी थियो । झण्डै एक वर्षसम्म स्वास्थ्यकर्मी कारागारमै उपचार गराउँथे ।’–निमित्त जेलर खडायतले भने–‘गत वर्षदेखि एचएको ठाउँमा अहेव पठाएपछि स्वास्थ्यका कर्मचारी आएका छैनन् ।’

कारागार भित्रका कैदी बन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्नको लागि कारागारमै स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरिएको भएपनि कर्मचारी नपठाउँदा नियमित उपचारमा समस्या हुने गरेको उनले बताए ।

अहिले सामान्य बिरामी हुँदा पनि सुरक्षाकर्मीको टोलीसहित जिल्ला अस्पताल पठाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

कारागारमा १४ महिना देखि स्वास्थ्यकर्मी देखिएका छैनन् । झन् पछिल्लो स्वास्थ्य समायोजनका कारण स्वास्थ्यकर्मी जिल्ला कारागारमा पठाइएको छैन् ।

‘घ’ श्रेणीको जिल्ला कारागारमा २५ जना पुरुष र १५ जना महिला कैदीबन्दीको क्षमता छ । हाल कारागारमा ४० जना कैदी तथा १६ जना बन्दी गरी ५६ जना कैदीबन्दी रहेका छन् । जसमा एक जना आश्रित छन् । १५ जनाको क्षमता रहेको महिला भवनमा दुई जना महिला छन् ।

गर्मीको समयमा क्षमताभन्दा बढी पुरुष कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको निमित्त जेलर खडायतले बताए ।

कैदीबन्दीलाई शौचालय अभाव हुने, टिनको छत भएको कारण गर्मीयाममा समस्या हुने गरेको छ । गर्मीका कारण पनि हरेक महिना जस्तो कैदीबन्दीमा कुनै न कुनै समस्या देखिने गरेको छ ।

कारागारले करारममा स्वास्थ्यकर्मी राख्न सक्ने व्यवस्था भएपनि बजेट अभावले राख्न नसकिएको खडायतले बताए ।

बाहिर उपचार गराउन लिनुभन्दा भित्रै सामान्य स्वास्थ्य चेकजाँच गर्न सुरक्षाको दृष्टिकोणले पनि सहज हुने उनले बताए ।


नरेन्द्रसिंह कार्की