स्वास्थ्यकर्मी अभावमा सेवाग्राहीलाई समस्या

   ०७६ पुस २९ गते 

बुलिङ्गटार गाउँपालिका अन्र्तगत रहेका स्वास्थ्य संस्थामा २५ जना कर्मचारीको दरबन्दी रिक्त रहँदा सो क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको छ । ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको गाउँपालिकामा हाल २० जना स्वास्थ्यकर्मी दरबन्दीमा कार्यरत छन् ।

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा नियमित स्वास्थ्य सेवाप्रवाहमा समस्या भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो । गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र, पाँच स्वास्थ्य चौकी छन् ।

गाउँपालिकाले टाढाका सेवाग्राहीलाई मध्यनजर गरेर एक सामुदायिक स्वास्थ्य ईकाई समेत स्थापना गरेको छ । तर, दरबन्दी भन्दा २५ जना कम स्वास्थ्यकर्मी गाउँपालिकामा कार्यरत रहेको कारण ती स्वास्थ्य संस्थामा सेवालिन आउने स्थानीयलाई सेवाप्रवाहमा समस्या सृजना भएको छ ।

दरबन्दीको आधाभन्दा कम स्वास्थ्यकर्मी कार्यरत गाउँपालिकामा प्रशासनिक कर्मचारीको अभाव हुदाँ गाउँपालिकाले वडा तहमा समेत स्वास्थ्य शाखाको कर्मचारी खटाएको छ ।

‘गाउँपालिकामा स्वास्थ्य तर्फका कर्मचारीले वडा सचिवको काम गर्दै आएको छन् । जसको कारण झन समस्या भएको हो–’ श्रेष्ठले बताउनुभयो ।

कर्मचारीको अभावमा प्रसुति गृह र स्वास्थ्य चौकीको काम प्रभावित भएको उहाँले बताउनुभयो । कर्मचारी समायोजन अघि नै अभाव रहेकोमा सामायोजनपछि पनि थप कर्मचारी हाजिर नहुँदा समस्या भएको श्रेष्ठले बताउनुभयो ।

जिल्लाको पहाडी गाउँपालिकामा अन्य स्वास्थ्य संस्थाहरु छैनन् । जसको कारण स्थानीय सरकारी स्वास्थ्य संस्थामा कर्मचारी नहुँदा थप समस्या भएको बुलिङ्गटार गाउँपालिका–३ का मनवहादुर पुलामीले बताउनुभयो ।

उहाँका अनुसार सामान्य प्रकृतिका उपचार प्राथमिक स्वास्थ्य केन्द्रमा भएपनि अन्य उपचारको लागि छिमेकी जिल्ला चितवन र तनहुँ पुग्नुपर्छ ।

जसको लागि एक दिन लाग्ने पुलामीले बताउनुभयो । “धेरै जसो उपचारको लागि त चितवन नै पुग्नुपर्छ, कहिलेकाही स्वास्थ्यचौकी पुग्दा कर्मचारी हुदैनन् ।” पुलामीले भन्नुभयो –“सरहरुलाई भेट्न वडा कार्यालय पुग्नुपर्छ ।”

दरबन्दी अनुसारको कर्मचारीको लागि तालुकको कार्यालयमा समन्वय गर्दा समायोजन अनुसार कर्मचारी आउने जानकारी आएपनि हाल सम्म समायोजनबाट दरबन्दी अन्तरर्गत थप कर्मचारी नआएको श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले स्वास्थ्य तर्फ ३ जना स्वास्थ्यकर्मी र ८ जना कार्यालय सहयोगीलाई करारमा नियुक्ति गरेको छ । गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर सर्शत सहित २ करोड २४ लाख बजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर सामुदायिक स्वास्थ्य ईकाइ स्थापना, बजेट बिनियोजन गरेको भएपनि माथिल्लो निकायबाट दरबन्दी अनुसार कर्मचारी नपठाउदा समस्या भएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार यो आर्थिक वर्षमा गाउँपालिकामा औषधी खरिद १० लाख ५० हजार रुपिँया बजेट समेत बिनियोजन गरिएको छ ।

 


तिर्थराज डुम्रे