स्वास्थ्यकर्मी अभावमा सेवाग्राहीलाई समस्या

  ०७६ साउन ८ गते

तिला गाउँपालिका–९ खोप्रीकी २६ वर्षीया झनमाया रावतलाई दुईहप्ता पहिले सुत्केरी व्यथा लाग्यो । झनमायालाई उनका पति र आफन्तले ३ घण्टाको बाटो बोकेर राँसा बर्थिङ सेन्टरमा पुर्‍याए ।

स्टे«चर माथि पल्टिएकी झनमाया सुत्केरी व्यथाले निकै छटपटाई रहेकी थिइन् । धौधौ गरी बर्थिङ सेन्टर पुर्‍याउँदा सेन्टरमा ताला लागेको थियो ।

स्थानीय भन्छन्–‘अनमी खोज्न आधा घण्टा हिडेर राँसा गाउँ पुग्यौँ ।’ तर अनमी नआउँदै झनमाया खुला चौरमै सुत्केरी भइन् । सालनाल नभएको रगत बगिरहेको निकै जोखिमपुर्ण अवस्थासम्म पनि अनमी नआएपछि आफन्तले झनमायालाई बोकेर खोप्री गाउँमै फिर्ता लगे ।

तिला गाउँपालिकाकै ३७ वर्षीया कुसुमकली थापा र ३२ वर्षीया माया रावत यसै वर्ष घरमै सुत्केरी भए । बर्थिङ सेन्टरमा नियमित स्वास्थ्यकर्मी नबस्ने र समयमै सेवा सुविधा नपाउने भएकोले स्वास्थ्य संस्थामा चेकजाँचदेखि सुत्केरी हुनेको सङ्ख्या घटेको छ ।

भौगोलिक हिसाबले निकै विकट तिला गाउँपालिकाका वडा नम्बर ८ र ९ ढिपु, मालापानी, राँसा र खोप्रीका सुत्केरी महिला बर्थिङ सेन्टर हुँदा पनि जोखिम मोल्न बाध्य छन् ।

घण्टौँ उकालो र ओरालो बाटोमा हिँडेर आएपनि सेवा नपाएर फर्किने गरेको उनीहरूको गुनासो छ । राँसा बर्थिङ सेन्टरमा एक जना इन्चार्ज, तीन जना अनमी, एक जना हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट सहित नौ जना कर्मचारीको दरबन्दी  भएपनि एक जनासमेत स्वास्थ्य चौकीमा नबस्ने गरेको स्थानीयको आरोप छ ।

सरकारले मातृ शिशु सुरक्षाका लागि हरेक महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ ।

सबैभन्दा दुर्गम तथा हिमाली जिल्लाका गर्भवतीलाई विशेष प्रथामिकता पनि दिएको छ । नियमित चार पटक चेकजाँच गराए बापत ८ सय रुपियाँ र स्वास्थ्य संस्थामा सुत्केरी भएपछि ३ हजार रुपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने राज्यको व्यवस्था पनि छ ।

सुत्केरी हुने क्रममा ज्यान जोखिममा नपरोस्, आमा र बच्चाको सुरक्षा होस्, तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी हुनुका साथै स्वास्थ्य चौकीमा गर्भवतीको पहुँच बृद्धि होस् भन्ने योजना सरकारले ल्याएपनि जुम्लामा भने सुत्केरीले पाउने सेवा सुविधा नपाउँदा र स्वास्थ्यकर्मी बर्थिङ सेन्टरमा नियमित नबस्दा स्वास्थ्य संस्थामा सुत्करी हुने तथा चेकजाँच गर्नेको सङ्ख्या घट्दो छ ।

तिला गाउँपालिका–९ खोप्री गाउँकी ३२ वर्षीया माया रावतको बच्चा जन्मिएर हिँड्ने भइसकेपनि उनले सरकारले दिने सुत्केरी भत्ता नपाएको बताइन् ।

सुत्केरी प्रोत्साहन भत्ता रकम समयमा निकासा नभएपछि समयमा भत्ता उपलव्ध गराउन नसकिएको स्वास्थ्य चौकीका इन्चार्ज हर्कबहादुर रावतले बताए ।
राँसा स्वास्थ्य चौकीमा गत वर्षको तुलनामा सुत्केरी हुने महिलाको सङ्ख्या घटेको छ । गत वर्ष ३० जना सुत्केरी भएका थिए भने यस वर्ष २६ जना सुत्केरी भएको स्वास्थ्य चौकीमा तथ्याङ्क छ ।

राँसा स्वास्थ्य चौकीका इन्चार्ज हर्कबहादुर रावतले भने–‘राम्रो बस्ने भवन नभएको, सुरक्षा चुनौतीका कारण कार्यरत तीन जना अनमी नै गाउँमा बस्न मान्दैनन् ।’

जुम्लाकोट स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा पनि सुत्केरी हुने महिलाको सङ्ख्या घटेको छ । गत वर्ष २८ जनाले सुत्केरी सेवा लिएपनि यस वर्ष २६ जनाले सेवा लिएको सेन्टरको तथ्याङ्क छ ।

तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया बुढाले बर्थिङ सेन्टरको सेवा प्रभावकारी गर्न पहल गरिने बताइन् ।

तिलाका स्वास्थ्य शाखाका सहसंयोजक गणेशबहादुर शाहीले अनमीलाई जस्तो अवस्थामा पनि बर्थिङ सेवा दिन निर्देशन दिएको बताए ।

इन्चार्चले व्यवस्थापन राम्रो नगरेका कारण सेवा प्रभावकारी नभएको र आगामी दिनमा सुधार गरिने उनको भनाई छ ।


मानदत्त रावल