स्वास्थ्यकर्मी अभावमा सर्वसुलभ स्वास्थ्य सेवाबाट बञ्चित

  ०७६ चैत ७ गते

माधवनारायण नपा—८ रजवाडास्थित शहरी स्वास्थ्य केन्द्रमा सात जना स्वास्थ्यकर्मी हुनुपर्नेमा हाल दुई जना मात्र कर्मचारी कार्यरत हुँदा सेवाग्राहीहरू सर्वसुलभ स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेका छन् ।

photo20200320rautahat

स्वास्थ्य केन्द्रका इन्चार्ज रामबहादुर साहका अनुसार सामान्य अवस्थामा यस स्वास्थय केन्द्रमा दैनिक ४० देखि ५० जना विरामीहरू आउने गरेका छन् ।

हालको मौसम परिवर्तनको समय र कोरोना भाइरसको त्रास फैलिरहँदा स्वास्थ्य केन्द्रमा भिड लाग्नु स्वभाविक हो । दुई जना कर्मचारी मध्ये एक जना अहेव र अर्को अनमी छन् । जसमध्ये इन्चार्ज रामबहादुर साहको विभिन्न कार्यहरूले कार्यालय बाहिर धेरै जसो समय बित्ने गर्छ भने कार्यालय एक जनाले मात्र सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । उक्त स्वास्थ्य केन्द्रको कार्य क्षेत्रमा ३ हजार जनसङ्ख्या पर्दछ ।

अनमीमा दरबन्दी रहेकी पुनम कुमारी गुप्ता भन्नुहुन्छ—“कर्मचारी अभावका कारण कहिले दुई जना त कहिले एक जनाले पनि चेकजाँच लगायतको उपचार गर्नूपर्ने भएकोले लाइन धेरै लामो हुने गरेको छ । लामो समयसम्म पालो नआउने भएकोले कत्ति त उपचार नै नगरी फर्केर जानु हुन्छ र पछि आउनु हुँदैन ।”

यस विषयमा कुराकानी गर्दा विरामी ३५ वर्षीय जयमङ्गल यादव भन्नुहुन्छ—“विरामी भएर स्वास्थ्य केन्द्र जाँदा धेरै बेर कुर्नुपर्ने भयो र अन्तिममा आज भ्याइएन भोलि आउनु भन्नु भयो । त्यसैले घर फर्किएँ र पछि मलाई ठिक भयो ।”

त्यस्तै अर्का विरामी ३५ वर्षीया गितादेवी सहनी ज्वरो आएर उपचार गर्न जाँदा धेरै बेर कुर्दा पनि पालो नआएको र घर गएर घरायसी औषधी प्रयोग गर्दा ठिक भएको बताउनु हुन्छ ।

यस विषयमा वडा अध्यक्ष जितेन्द्रप्रसाद कुश्वाहासँग कुराकानी गर्दा यस वर्ष एक जना थप गर्ने योजनामा रहेको र बाँकी कर्मचारी पुर्तिको लागि अर्को वर्ष योजनामा राख्ने बताउनु हुन्छ ।


कोपिला तिमल्सिना