स्वास्थ्यकर्मी अभावः टिपर दुर्घटनामा परेका बिरामीले उपचार गर्न पाएनन्

  ०७६ मङ्सिर २६ गते

हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित पानी पाल्वाङ्गमा मङ्सिर २६ गते बा ५ ख ५३४४ नम्बरको टिपर दुर्घटनामा परेका बिरामीहरूले उपचार गर्न नपाएको बिरामीका आफन्तहरूले गुनासो गरेका छन् ।

दुर्घटना परी नाम्खा गाउँपालिका–४ याल्वाङ्गका ३५ वर्षीय सावेल लामा र सोही गाउँपालिका–१ हेप्का गाउँका २५ वर्षीयया सोनाम मिग्युर लामाको मृत्यु भएको छ ।

घाइते हुनेमा टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २५ वर्षीय कुलमान तामाङ्ग र नाम्खा गाउँपालिका–१ की ३२ वर्षीया सोनाछेजुन लामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

घाइते चालक सहित लामाको अहिले मुचु प्रहरीचौकीका प्रहरीले उद्धार गरेको सिंहले बताउनु भयो । बिरामीलाई अवेर गरि मुचु स्वास्थ्यचौकीमा पुराउँदा स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी समेत नभएपछि बिरामीले थप सास्ती खेपि रहेको बिरामीका आफन्त छेपाल दोर्जे लामाले गुनासो गर्नु भएको छ ।

पाँच जना दरबन्दी रहेको स्वास्थ्यचौकीमा एक जना पनि स्वास्थ्यकर्मी नभएपछि प्रहरीले स्वास्थ्यचौकीको ढोका समेत आफैँ फोरेर सो स्वास्थ्यचौकीमा बिरामीलाई राखेको आफन्त लामाले बताउनु भयो ।

नाम्खा गाउँपालिकाकै यारीमा घर भएका स्वास्थ्य इञ्चार्ज समेत आफ्नै घरमा बसेको हुँदा तत्कल बोलाइएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताउनु भयो ।

उद्धारका लागि प्रदेशमा समेत खबर गरिएको भए पनि हुम्लामा भारी हिमपात भएका कारण हेलिकप्टर समेत आउन नसकेको अध्यक्ष लामाको भनाइ छ ।

अध्यक्ष लामाका अनुसार बिरामीलाई सो ठाउँबाट बोकेर सदरमुकाम ल्याउने हो भने करिब दुई दिन लाग्ने भएको र बिरामीको समेत बिच बाटोमै मृत्यु हुने सम्भावना बढिरहेको छ । टिपर भिरबाट ७ सय मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ ।

टिप्परले खाद्य वस्तु र डिजेल लिएर याल्वाङ्ग आउने क्रममा पानी पाल्वाङ्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।


नन्द सिंह