स्ववियू सभापतिद्वारा विद्यार्थी नेतामाथि हातपात

  ०७६ भदौ २४ गते

धौलागिरी बहुमूखी क्याम्पस बागलुङका स्ववियू सभापति मनिष थापाले नेकपा निकट विद्यार्थी संगठनका नेता जिवन शर्मालाई हातपात गरेको पीडितले बताएका छन् ।

क्याम्पसमा विज्ञान सङ्कायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भदौ २२ गते आयोजित छलफलमा स्ववियू सभापति थापाले असम्बन्धित व्यक्ति छिरेर अपशब्द बोलेर बखेडा झिकेको भन्दै अनेरास्ववियूका जिल्ला नेता शर्मा माथि क्याम्पस प्रमुख सहितका प्राध्यापकका अगाडि हातपात गरेको पीडितको भनाई छ ।

हातपातबाट विद्यार्थी नेता शर्माको दायाँ हात मर्केको घटनाको विरोध गर्दै अनेरास्ववियू बागलुङले भदौ २२ गते जारी प्रेस विज्ञप्ति मार्फत घटनाका दोषीमाथि कारबाहीको माग गरेको छ ।

अनेरास्ववियू बागलुङका नेता शेखर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा सभापति जस्तो जिम्मेवार व्यक्तिले क्याम्पस प्रशासनमै हातपातमा उत्रनु दुखद् भएका जनाएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनले सभापति मनिष थापाको हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै घटनालाई नियोजित र भ्रामक बनाउन खोजिएको जनाएको छ ।

नेपाल विद्यार्थी सङ्घले पनि भदौ २३ गते विज्ञप्ति जारी गर्दै संवाद र सहमतिबाटै घटनाको समाधान खोज्न आग्रह गरेको छ ।

धौलागिरी बहुमूखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले स्ववियू सभापति थापा र विद्यार्थी नेता शर्माबिच 'केही अस्वभाविक गतिविधि र घटना' भएको बताउँदै दुवै पक्षलाई बोलाएर छलफलको माध्यमबाट समाधान प्रयास गरिने जानकारी दिए ।


सिर्जना पन्त