स्ववियु निर्वाचन स्थगित गरेको आरोपमा क्याम्पस तोडफोड

  ०७३ फागुन १७ गते

स्ववियु निर्वाचन स्थगित गरेको आरोपमा फागुन १७ गते विभिन्न विद्यार्थी सङ्गठनहरूले लहान नपा- १० स्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् ।

क्याम्पस प्रशासनले भोलि गर्नुपर्ने निर्वाचन अघिल्लो दिन स्थगित गरेको विरोधमा अनेरास्ववियु र नेविसङ्घले तोकेको मितिमा स्ववियु निर्वाचन हुनु पर्ने भन्दै क्याम्पसमा तोडफोड गरेको क्याम्पस प्रशासनले आरोप लगाएको छ ।

निर्वाचन हुने निर्णय गर्न नेविसङ्घ र अनेरास्ववियुले क्याम्पस प्रमुख तुलसी पोखरेललाई दबाव दिएको पनि प्रशासनले जनाएको छ । तर, क्याम्पस प्रमुख पोखरेलले निर्वाचन गराउन नसक्ने बताएपछि आक्रोशित नेविसङ्घ र अनेरास्ववियुका विद्यार्थीहरूले क्याम्पसको पुस्तकालयमा तोडफोड गरी क्याम्पस प्रमुखसहित प्राध्यापकहरूलाई समेत पाँच घण्टासम्म कोठामा थुनेका थिए ।

तोकेको मितिमै निर्वाचन गराउने निर्णय नगरेका कारण क्याम्पस प्रमुख पोखरेलसहितलाई थुनेको नेविसङ्घका नेता एवम् स्ववियुका निवर्तमान सभापति अशोक चौधरीले बताए ।

क्याम्पसका प्राध्यापक जितेन्द्र चौधरीले मधेसी विद्यार्थी सङ्गठनहरूले क्याम्पसमा गरेको तालाबन्दी र चेतावनीका कारण निर्वाचन गराउने वातावरण नरहेको प्रतिक्रिया दिए ।


दुर्गा परियार